के हो अटवारी पर्व ?
लेखक, नाथुराम चौधरीः यो विशेषगरी थारु पुरुषले मनाइने पर्व हो।
तर महिलाहरु स्वेच्छिक रुपमा मनाउँछन् ।थारू भाषामा आइतवारलाई ’अटवार’ भनिन्छ। यो पर्वआईतबार मनाइने हुनाले ’अटवारी ’ भनिएको हो। कुन आइतवार मनाउने भन्ने कुरामा अब धेरै एकरुपता आइसकेको छ।
भाद्र महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्ष (ओजरिया ) को पहिलो आइतबारका दिन यो पर्व पर्छ।
अर्को शब्दमा भन्दा कृष्णअष्टमी (अष्टीम्की ) पछिको दोस्रो आइतबार पर्न जान्छ कृष्णअष्टमी (अष्टीम्की ) लाई नै किन आधार मान्ने भन्ने प्रस्न उठ्न सक्छ। थारुको एक धर्म ग्रन्थ ’बर्किमार’ कृष्ण तथा पाण्डवसंग जोडिन्छ , कृष्णअष्टमी (अष्टीम्की ) मा पनि पूजा गर्नका लागि डेहरी या भित्तामा कलात्मक तरिकाले पाँच पाण्डव लगायत कृष्ण, द्रौपदी, सुर्य, चन्द्र, मानव जीवन चक्रको रचना गरिन्छ र तिनकै पुञ्ज गरिन्छ।
’अटवारी ’ मा पनि पाण्डवहरु मध्य भिम (भेंवा÷भ्याँवा ) को नामले ब्रत बसिन्छ। सुर्यको प्रतीकको रुपमा अगियारिमा धूप जलाइन्छ । त्यसैले कुन आइतवार भन्ने दोधार नै छैन भाद्र महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्ष (ओजरिया ) को पहिलो आइतबारका दिन नै पर्छ थारूहरुको महान पर्व ’अटवारी ’ । यो संग जोडिएको किवदन्ती पनि छ।
महाभारतका पाँच पाण्डवहरू र दाङका थारु राजा दंगीशरणको लामो समयदेखि घनिष्ठ सम्बन्ध थियो। द्रोपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रा (थारु परम्परा अनुसार भिवाँक घर) मा आएका थिए। त्यसैबेला थारु राजा दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गरे। यो खबर पाउने बित्तिकै तावामा पाक्दै गरेको रोटी छोडी तुरुन्तै राजा दंगीशरणको पक्षमा लड्न गए। र शत्रुलाई हराए पनि। यसरी भोक प्यास नमानीकन ज्यानको माया मारेर थारु राजाको पक्षमा लडेर विजय दिलाएकाले थारु समुदायमा भिवाँ ज्यादै पूजनीय छन्।
यो घटना भाद्र महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्ष (ओजरिया ) को पहिलो आइतबारका दिन घटेको भन्ने विश्वास रहेको छ। त्यसैले यस पर्वलाई विजय उत्सवको रूपमा पनि लिइछ। भिवाँले पाक्दै गरेको रोटी छाडेर युद्धमा गएकाले रोटी एकातिर मात्र पाक्यो। तसर्थ, अट्वारीमा पहिलो रोटी ठुलो र एकापत्ति मात्र भिवाँको नाममा पकाइन्छ। सो रोटीलाई भिवाँको नाममा चढाइन्छ। यो रोटीलाई भ्यावाँ भन्ने गरिन्छ।
.
अट्वारी विशेष गरेर दुई दिन मनाउने गरिन्छ। दुवै दिन अत्यन्त महत्त्वपूर्णका साथ लिइन्छ पहिलो दिन पूजापाठ तथा अट्वारीका मुख्य देवता भिवाँलाई रोटी चढाउने दिन अर्थात् फलाहार गर्ने दिन। दोस्रो अग्रासन दिइने दिन अर्थात् चेलीबेटीका लागि तरकारी भात छुट्ट्याइने दिन। अट्वारीको तयारी शनिवारसम्ममा पुरा हुनुपर्दछ । शनिवारको राति नै पहिलो भाले बास्नुअघि भिन्सर्या (दर भात) खाने चलन छ।
भोलिपल्ट आइतबारका दिन भान्सेले नुहाएर बहरी कोठामा गाइको गोबरले लिपपोत गरी रोटीको परिकार पकाउनका लागि चुलो बनाउनुपर्छ। रोटी पकाउनका लागि चोखो आगो चाहिने भएकाले गन्यारी भन्ने काठबाट आगो पारिन्छ। रोटी पकाउने बेला भान्से व्रतालुबाहेक अरूलाई छुन मनाही हुन्छ।
सबभन्दा पहिले एउटा मात्र ठूलो आकारको रोटी एकापत्ति मात्र पकाइन्छ र भिवाँका लागि अलग्गै राखिन्छ। पूजा गर्ने बेला सोही रोटी चुलोको आगोमा हवन गर्नुपर्छ। रोटी पकाइ सकेपछि जति जना व्रतालुहरू हुन्छन् त्यत्तिकै भाग लगाई थप एक भाग पनि लगाइन्छ । सो भागहरूमा रोटी, फलफूल, काँक्राहरू रहेको हुन्छ। स्नान गरी सकेपछि सबभन्दा पहिले सबैले आफ्नो भागबाट छुट्टै अर्को भाँडोमा रोटी र अन्य फलफूल निकालेर राख्नुपर्छ।
यसैलाई अग्रासन भनिन्छ। अग्रासन छुट्ट्याई सकेपछि सबै प्रकारका परिकारबाट अलिअलि निकाली एउटैमा मुछेर परिकार पकाएको आगोमा होम गर्दै सर्रिको धूप, घ्यू र जलले पर्सिनुपर्छ। सबैले यो कर्म गरिसकेपछि खानपिन सुरु हुन्छ। सो बसाइँको खुवाइपछि फेरि खान मिल्दैन। थप एक भागबाट घरका बालबालिकाहरूलाई बाँड्ने गरिन्छ।
अर्को दिन बिहान उठी सकेपछि नुहाई धुवाई गरेर विभिन्न थरिका तरकारी र भात पकाउनु पर्छ। तरकारीहरूमा सिद्रा र सिल्टुंग, गब्डा, पवैं, तोरैं प्रमुख तरकारीको रूपमा बनाइन्छ। तरकारी कम्तीमा तीनदेखि माथि बेजोड संख्यामा बनाइने गरिन्छ। सबै प्रकारका परिकार तयार भई सकेपछि व्रतालुहरू गोलकार रूपमा बसेर सबैको भागमा हरेक खालको परिकार भाग लगाइन्छ।
त्यसबाट सबभन्दा पहिले आफ्ना दिदीबहिनीहरूको लागि अग्रासन छुट्ट्याइन्छ। यस पश्चात् आगोमा होम गरी खाने चलन छ। खाइसकेपछि, आफ्ना बिहा भएका दिदीबहिनीहरूलाई अग्रासन दिन गइन्छ। यसदिन दिदीबहिनीहरू आफ्नो दाजुभाइको व्यग्र प्रतीक्षामा हुन्छन्। अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्त्वका साथ लिने गर्दछन्। दाइभाइहरुले दिदीबहिनीप्रतिको माया दर्शाउने, अनुभूति गर्ने विशेष अवसर नै अट्वारी हो।
अग्रासन दिन गएका दाईभाईका लागि दिदीबहिनीहरूले मासुका विशेष परिकारहरू बनाएका हुन्छन्। दिदीबहिनी तथा दाईभाई एकमदै प्रफुल्ल मुद्रामा हुन्छन् यस दिन। यति बेला थारु गाउँ नै एकदमै रोमाञ्चक हुन्छ। यसरी थारु समुदायमा अट्वारी विशेष गरेर दुई दिनसम्म मनाइने गरिन्छ।
लेखक नाथुराम चौधरी टिकापुर बहुमुखी क्याम्पसका प्राध्यापक हुन्।