सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको मुख हेर्ने दिनमा छोराको भावुक लेख

२०८२ भदौ ७, ०५:३२

रमेश बहादुर सिंह : २० वर्ष, दुई दशक, देख्दा धेरै लाग्न सक्छ, तर मलाई लाग्छ यो त हिजोको जस्तै हो।

म अझै पनि बुबाको त्यो आवाज सम्झन्छु, “रमेश, सधैँ इमान्दार रहनु, मानिसको हृदय जित्न सक्ने बन।” त्यो आवाज, जुन अब कुनै कानले सुन्न सक्दैन, तर मेरो आत्मामा गुन्जिरहन्छ-हरेक बिहान, हरेक रात। बुबाको मृत्यु भएको आज ठीक २० वर्ष बित्यो। २० वर्ष… जसमा मैले थुप्रै मोड देखे, अनेक चुनौती भोगे, सफल भएँ, चिप्लिएँ पनि। तर एउटै कुरा कहिल्यै हराएन-बुबाको छायाँजस्तो साथ। म सानो हुँदा, बुबाले बिहानै उठाएर विद्यालय पठाउनु हुन्थ्यो।

झोलामा टिफिन हालि दिनु हुन्थ्यो-कहिले गुन्द्रुकको अचार, कहिले पकौडी। म त रिसाउँथेँ—“बुबा, साथीहरूले पाउरोटी ल्याउँछन्।” तर आज त्यो गुन्द्रुकको गन्ध, त्यो माटोको स्वाद, त्यो माया—सबैभन्दा अमूल्य लाग्छ। बुबा गएकै दिन मेरो जीवनको समय स्थिर भयोजस्तो लाग्यो। संसार अघि बढ्दै गयो, म पनि सहरको भीडमा हराएँ, तर बुबाको याद—कहिल्यै ओइलाएन। आज, जब म ऐनामा आफूलाई हेर्छु, तपाईँको अनुहार देख्छु, बुबा। मेरो हिँडाइमा तपाईँको गाम्भीर्ययता छ, मेरो मौनतामा तपाईँको सहनशीलता।

मलाई कहिलेकाहीँ लाग्छ- यदि तपाईँ आज हुनु हुन्थ्यो भने, सायद हामी चिया सँगै पिउँथ्यौँ, कुनै रमाइलो पुराना कुरामा हास्थ्यौँ। सायद म तपाईँलाई ‘बुबा, अब तपाईँ आराम गर्नुहोस्’ भन्न सक्थेँ। तर तपाईँ त अब शान्त हुनुहुन्छ, फोटोको फ्रेमभित्र, मेरो हृदयको सबैभन्दा सुरक्षित कुनामा। “बुबा, तपाईँ गएका २० वर्ष बितिसकेको छ, तर तपाईँको माया, तपाईँको शिक्षा र तपाईँको अस्तित्व मेरो रगतमा बगिरहेको छ। तपाईँको छोरा हुनु मेरो गौरव हो, तपाईँलाई सम्झिरहनेछु, जीवनभर।”

कमेन्ट लोड गर्नुस