सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने

। फोटो स्रोत ।
२०७६ साउन ९, ०४:२३

बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ। ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो। सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए। परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो। परियोजना कार्यक्रममा सातभन्दा बढी अन्तर्रा्िष्ट्रय सङ्घसंस्था साझेदारका रूपमा रहेका छन्। अहिले परीक्षणका रुपमा परियोजनाका कार्यक्रम सञ्चालन गरिएको छ। परीक्षण अवधि समाप्त भएपछि परियोजना पूर्णरुपमा सञ्चालनमा आउने अध्यक्ष कक्षपतिले बताए।

परियोजना सञ्चालन हुने भएपछि त्यहाँका जनप्रतिनिधि र स्थानीयवासी उत्साहित भएका छन्। “‘हरित खजुरा’ परियोजना हाम्रा लागि ठूलो अवसर र चुनौती दुवै हो, यो परियोजनाले गाउँपालिकाको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिएका छौँ”, स्थानीयविज्ञ पूर्णप्रसाद उपाध्यायले भने। परियोजनाअन्तर्गत कृषि, सिँचाइ, विद्युतीकरण, प्रविधिको विकास, उन्नत बीउबिजन, वनजङ्गल संरक्षण, वृक्षरोपणलगायतका विषयवस्तु समेटिएको छ। परियोजनाले खजुरा गाउँपालिकाको गरीबी न्यूनीकरण गर्नुका साथै हरित शहरको विकास गरी गाउँपालिकालाई नमूना शहरमा रूपान्तरण गर्ने अपेक्षा लिइएको छ। 

कक्षपतिका अनुसार, हरित खजुरा परियोजना नेपालमै एउटा नौलो परियोजना हो। परियोजनाले कृषि, पशुपालनलगायत सबै पक्षलाई समेटेको छ। आधुनिक तथा वैज्ञानिकरूपमा खेती गर्नका लागि सिँचाइ, प्रविधि, उन्नत बीउबिजनलगायतका सामग्रीमा अनुदान प्रदान गरिनेछ भने पशुपालनका लागि पनि आवश्यक सामग्री परियोजनाले उपलब्ध गराउनेछ। करीब ५० हजार जनसङ्ख्या रहेको बाँकेको खजुरा गाउँपालिकामा झण्डै ९० प्रतिशत घरधुरी कृषि पेशा, व्यवसायमा आबद्ध छन्। उनीहरु सबैलाई परियोजनाको कार्यक्रमभित्र समेट्ने लक्ष्य तय गरिएको अध्यक्ष कक्षपतिले बताए।

यस्तै लामो दूरीका लागि सञ्चालन हुने अत्याधुनिक नेपालगञ्ज बसपार्क निर्माणको काम करीब सकिएको छ। डेढ वर्षमा सक्नुपर्ने निर्माणको काम त्यति नै समय ढिला गरी तीन वर्षमा सकिएको हो। “फिनिसिङको काम मात्र बाँकी छ, एक साताभित्र बसपार्क सञ्चालनमा आउनेछ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने।

खानेपानी ट्याङ्कीका लागि बोरिङ गाड्ने र शौचालयको सेफ्टीट्याङ्की निर्माणको केही प्रतिशत काम मात्र बाँकी रहेको प्याकुरेलले बताए। नगर कोषको ऋण सहयोगमा उपमहानगरपालिकाले रु १४ करोड ९४ लाखमा अत्याधुनिक बसपार्क निर्माणको ठेक्का दिएको थियोे। झण्डै १४३ बस पार्किङ गर्नसक्ने क्षमताको टर्मिनल भवन, आधुनिक टिकट काउन्टर, तीन पसलसहितको भवन बसपार्कमा निर्माण गरिएको छ। रासस

कमेन्ट लोड गर्नुस