सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलै खेलमा सिकाईः नर्सरी शिक्षाको वास्तविकता

२०८२ भदौ ६, ०२:२७ खबर संवाददाता

लेखक कुबेर सिंह धामीः नर्सरी शिक्षा भन्ने कुरा हाम्रो समाजमा अझै पनि सतही रूपमा बुझिन्छ।

धेरै अभिभावकहरूको सोचाइ हुन्छ कि बच्चाले एकपटक विद्यालयमा कदम राख्नेबित्तिकै उसले अक्षर चिन्ने, लेख्ने, पढ्ने र गणित गर्न सिक्नै पर्छ। तर वास्तविकता के हो भने नर्सरी शिक्षा भनेको अक्षर र अंक मात्रै सिकाउने प्रक्रियाभन्दा धेरै फरक र गहिरो कुरा हो। यो चरण जीवनभरका लागि आधार तयार गर्ने, बच्चाको सामाजिक, भावनात्मक, शारीरिक र मानसिक विकासलाई सहज र स्वाभाविक बनाउने एउटा संवेदनशील यात्रा हो।

बच्चा विद्यालयमा पहिलो पटक प्रवेश गर्दा उसको मन, मस्तिष्क र सोचको संसार अत्यन्तै जिज्ञासापूर्ण हुन्छ। उसको रुचि खेल, रमाइलो, गीत, चित्र, रंग र गतिविधितर्फ आकर्षित हुन्छ। तर हामी अभिभावक वा समाजका सदस्यहरूले यसलाई बुझ्न सक्दैनौं। हामी तुरुन्तै ‘अब त पढ्नै पर्छ, लेख्नै पर्छ’ भन्ने दबाब सिर्जना गर्छौं र यसरी गर्दा बच्चाको सहज विकासमा अवरोध पु¥याउँछौं।

बालबालिकाका लागि खेल भनेको केवल समय बिताउने साधन मात्र होइन, यो नै सिकाइको सबैभन्दा प्रभावकारी माध्यम हो। खेलमार्फत बच्चाले आफ्नो परिवेश बुझ्छ, साथीहरूसँग सम्बन्ध बनाउँछ, भाषा प्रयोग गर्छ, नयाँ शब्द र सन्दर्भ सिक्छ, समस्या समाधान गर्ने क्षमता विकास गर्छ, सहयोग र प्रतिस्पर्धा दुवै अनुभव गर्छ र आत्मविश्वासी बन्न थाल्छ। खेलमा सिक्ने प्रक्रियाले बच्चालाई दबाब रहित र आनन्दपूर्ण अवस्थामा राख्छ, जसले उसको मानसिक स्वास्थ्यलाई सुरक्षित राख्छ। तर हाम्रो व्यवहार अझै पनि उल्टो छ। हामी बच्चालाई जबरजस्ती अक्षर लेखाउन खोज्छौं, लेखेन भने निराश हुन्छौं, अरूको छोराछोरीसँग तुलना गर्छौं र कतिपय अवस्थामा प्रलोभन देखाएर सिकाउने प्रयास गर्छौं—‘तिमीले यो ग¥यौ भने म यो दिन्छु’ भन्ने शैलीले। यस्तो स्वार्थी दृष्टिकोणले बालबालिकामा पढाइलाई बोझको रूपमा स्थापित गरिदिन्छ।

साना बालबालिकाको विकासक्रम स्वाभाविक रूपमा फरक–फरक हुन्छ। कोही चाँडै भाषा सिक्छन्, कोही चाँडै लेख्छन्, कोही सामाजिक सम्बन्ध बनाउन सक्षम हुन्छन्। तर हामीले यसलाई बुझ्नुभन्दा पनि तुलना गर्ने प्रवृत्ति पाल्छौं। एकै उमेरका दुई बच्चा बराबर क्षमतामा अघि बढ्न सक्दैनन् भन्ने कुरा बुझ्न नसक्दा हामी आफ्ना छोराछोरीलाई ‘किन तिमीले सक्दैनौ?’ भन्ने प्रश्नले दबाब दिन्छौं।

यस्तो सोचले उनीहरूको आत्मविश्वास तोड्छ र सिकाइलाई रमाइलो भन्दा पनि पीडादायी बनाउँछ। त्यस्तै, बालबालिकाको विकासक्रममा ध्यान नदिने प्रवृत्ति पनि गम्भीर समस्या हो। बच्चाले हरेक चरणमा फरक–फरक खालको सिकाइ र अनुभव आवश्यक हुन्छ। यदि त्यो चरणमा उपयुक्त अवसर, वातावरण र सहयोग नदिइयो भने उसको भविष्यको शैक्षिक यात्रा कमजोर हुन सक्छ।

नर्सरी शिक्षाको अर्को ठूलो समस्या भनेको यसप्रति रहेको गलत धारणा हो। धेरैजसो अभिभावक र कतिपय शिक्षकहरूले पनि यसलाई अक्षर, अंक र पाठ्यपुस्तकमा सीमित गरिदिन्छन्। तर नर्सरी शिक्षा भनेको अक्षर–ज्ञान मात्रै होइन, बरु सिर्जनशीलता, कल्पनाशक्ति, भावनात्मक बुद्धिमत्ता, सामाजिक सीप र जीवन कौशल सिकाउने स्तर हो। बच्चाले यस चरणमा खेल, संगीत, चित्रकला, कथावाचन, नाटक र प्रयोगात्मक गतिविधिबाट धेरै कुरा सिक्छ। तर हामीले अझै पनि ‘नोटबुक सफा छ कि छैन?’, ‘अक्षर ठिकसँग लेख्यो कि लेखेन?’ भन्ने सानो–सानो कुरामा ध्यान केन्द्रित गरिरहेका छौं।

अर्कोतर्फ धैर्यको अभाव पनि एक महत्वपूर्ण चुनौती हो। बच्चाले तुरुन्तै कुरा नबुझे पनि, नसिके पनि उसलाई समय र सहयोग दिनुपर्छ। तर अभिभावक र शिक्षकहरूले धैर्य गुमाएर बच्चालाई दबाब दिने, कर गर्ने र कहिलेकाहीँ दण्ड दिने प्रवृत्ति देखाउँछन्। यस्तो व्यवहारले बच्चामा सिकाइप्रति डर र उदासीनता पैदा गर्छ। त्यसमा पनि अभिभावकहरूले आफ्ना छोराछोरीलाई असल शिक्षा भनेको अंकमा मात्र नाप्छन्। ‘मेरो बच्चा पहिलो आउनुपर्छ’, ‘म मेरो छोराछोरीलाई अब्बल बनाउँछु’ भन्ने अत्यधिक अपेक्षाले बच्चालाई पाठ्यपुस्तकको कैदी बनाउँछ।

तर वास्तविक शिक्षाको परिभाषा केवल अंक वा रैंकमा सिमित छैन; असल शिक्षा भनेको जीवनलाई बुझ्ने क्षमता, समाजसँग मिलेर बस्ने व्यवहार, समस्या समाधान गर्ने क्षमता, सिर्जनशील सोच, सहानुभूति र आत्मअनुशासन हो।
यी सबै समस्याहरूलाई आलोचनात्मक दृष्टिले हेर्ने हो भने, हाम्रो समाजले अझै पनि बालमैत्री शिक्षा पद्धति आत्मसात गर्न सकेको छैन भन्ने कुरा स्पष्ट हुन्छ।

हामीले नर्सरी शिक्षालाई केवल औपचारिक पढाइ–लेखाइको सुरुवातको रूपमा बुझ्ने हो भने बच्चाको सिर्जनशीलता, जिज्ञासा र स्वतन्त्र सोच दवाइन्छ। त्यसको दीर्घकालीन परिणामस्वरूप बच्चा पढाइप्रति उदासीन हुन सक्छ, आत्मविश्वास गुमाउन सक्छ र सिर्जनात्मक क्षमतामा अवरोध आउन सक्छ। तर यदि हामीले बालमैत्री वातावरण सिर्जना गर्न सक्यौं भने—जसमा खेल, रमाइलो, प्रयोगात्मक सिकाइ र धैर्यपूर्ण व्यवहार प्राथमिकतामा राखिन्छ—त्यो अवस्थामा बच्चाले सहजै भाषिक, सामाजिक, भावनात्मक र शैक्षिक प्रगति गर्न सक्छ।

यसैले नर्सरी शिक्षा केवल अक्षर र अंक सिकाउने स्तर होइन, जीवनका आधारभूत मूल्य, व्यवहार र सीप निर्माण गर्ने संवेदनशील चरण हो भन्ने कुरा बुझ्न जरुरी छ। हामीले आफ्नो सोचाइ परिवर्तन गरेर बालबालिकालाई दबाबमुक्त वातावरण दिनुपर्छ, उनीहरूको रुचि र आवश्यकतालाई सम्बोधन गर्नुपर्छ, खेल–आधारित सिकाइलाई प्राथमिकता दिनुपर्छ र धैर्यपूर्वक उनीहरूलाई अघि बढाउनुपर्छ।

तब मात्र हामी आफ्ना नानिबाबुलाई जीवनप्रति उत्साही, आत्मविश्वासी र सिर्जनशील बनाउन सक्छौं। “पढ्नै पर्छ, लेख्नै पर्छ“ भन्ने संकुचित सोचलाई त्यागेर “खेल्दै सिकौं, रमाउँदै बढौं“ भन्ने संस्कृति विकास गर्न सके मात्र नर्सरी शिक्षाको वास्तविक अर्थ साकार हुनेछ।

लेखक कुबेर सिंह धामी दिव्य गुरुकुल एकेडेमी दार्चुलाका शिक्षक हुन्।
 

कमेन्ट लोड गर्नुस