बाजुराको हिमाली गाउँपालिकाले गर्यो बाढीपहिरोपीडितलाई राहत वितरण
बाजुराः बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ।
बाढीपहिरोले गाँसबासको समस्यामा परेका त्यहाँका स्थानीयलाई शुक्रवार हिमाली गाउँपालिकाले खाद्यान्न, भाँडाबर्तन र त्रिपाललगायतको राहत सामग्री वितरण गरेको हो। गत बुधवार राति बिच्छ्या खोलामाथिबाट आएको बाढी सिधै गाउँ पसेपछि घर, जमिन र खाद्यान्नलगायत सबै बगाएपछि स्थानीय पीडित बनेका छन्।
यो बेला हिमाली गाउँपालिकाले चामल, नुन, तेल र भाँडा, त्रिपाल वितरण गरेपछि अहिले केही दिनका लागि भए पनि बिहान बेलुकीको छाक टार्न सहज भएको हिमाली–१, बिच्छ्याका सब्बले थापाले बताए। बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिमा रहेका छन्। यहाँका ४१ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने २४ घरपरिवार विस्थापित भएका छन्। वडा नम्बर ५ कवाडीमा मात्र १६ घरपरिवार विस्थापित भएका छन् भने ३२ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।
विद्युत्गृह बगाउँदा अन्धकार
बिच्छ्या खोलामा आएको बाढीले पावर हाउस बगाउँदा यहाँको हिमाली गाउँपालिका अन्धकार भएको छ।
कवाडी खोलामा रहेको कवाडी लघुजलविद्युत् योजनाको नहर र पावर हाउस बगाएपछि सो गाउँपालिका अन्धकार भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताए। उनले भने, “केही वर्षपहिला झन्डै दुई करोड रुपियाँमा सो परियोजना निर्माण गरिएको थियो। अहिले एक दिनमै त्यो सबै सखाप भयो। यसलाई मर्मत गर्न ठुलो रकमको आवश्यक पर्ने देखिन्छ। यसका लागि पालिकामा खासै त्यति ठुलो रकम छैन।” बत्ती नभएर त्यहाँका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या भएको छ।
खानेपानीको समस्या
हिमाली गाउँपालिका– १ र ५ का स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ।
उनीहरूले सधैँ खाने गरेको पानीको मुहान र पाइप बगाएपछि अहिले यहाँका स्थानीयलाई खानेपानीको समस्या भएको हो। बाढीले खाने गाँस, बस्ने बास र कमाइ गर्ने जमिन त बगायो। त्यति मात्र नभई अहिले यहाँको पाइप र मुहानसमेत बगाएपछि त्यहाँका स्थानीयवासीलाई खानेपानीको निकै समस्या हुने गरेको हिमाली गाउँपालिका–१, बिच्छ्याका छन्चलाल थाापाले बताए। उनले भने, “पहिला गाउँमा खानेपानी थिएन।
गत वर्ष यहाँका स्थानीय सरकारले गाउँमा खानेपानी पु¥याएको हो।” अहिले त्यो खानेपानीको पाइप र मुहान सबै पहिरोले बगाएपछि फेरि खानेपानीको समस्या सुरु भएको थापाले बताए।