सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा महिला संघकी नेतृहरुमाथि कुटपिट

२०७६ साउन ८, ०७:१२ नवराज पनेरु

डडेल्धुरामा महिला संघकी नेतृहरुमाथि कुटपिट भएको छ। महिला संघ तदर्थ समितिकी संयोजक तथा परशुराम नगरपालिकाकी उप–मेयर कलावती बोहरा, उप–संयोजक बसन्ती भण्डारी लगायतका नेतृहरुमाथि कुटपिट भएको हो। नेपाली काग्रेसको पार्टी कार्यालयमा महिला संघको बैठक चलिरहेका बेला कार्यालय सचिव राम विष्टले उनीहरुमाथि कुटपिट गरेको आरोप लागेको हो।

कुटपिटबाट बोहरा र भण्डारी घाईते भएका छन्। भण्डारीलाई डडेल्धुरा अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरिसकेको महिला संघ तदर्थ समितिकी संयोजक बोहराले बताईन्। उनले कार्यालय सचिव विष्टले कार्यालय भित्र किन बैठक गरेको भन्दै आफुहरुमाथि कुटपिट गरेको बताईन्। ‘कार्यालय भित्र बैठक गर्नका लागि कार्यालय सहयोगीलाई फोन ग¥यौ,’ उनले भनिन्, ‘कार्यालय सहयोगी नआएपछि ताल्चा खोल्दै बैठक हलमा छलफल भईरहेको थियो, एक्कासी कार्यालय सचिवले आक्रमण गरे।’ उनले भण्डारीलाई भित्तामा टाउको ठोक्दै कुटपिट गरेको र आफुमाथि कुर्चीले प्रहार गरेको बताईन्। कुटपिटमा संग्लन विष्ट जिल्ला सभापति कर्ण मल्ल पक्षका हुन् भने महिला संघका नेतृहरु नेता रघुविर भट्ट पक्षका हुन्। महिला संघ जिल्ला स्तरीय तदर्थ समितिले पार्टी सभापति मल्लको ठाडो निर्देशनमा कुटपिट भएको आरोप लगाएको छ। आज विज्ञप्ती जारी गर्दै यस्तो आरोप लगाईएको हो। 

यता पार्टी सभापति मल्लले भने कार्यालयको ताल्चा तोडेर बैठक गरेकाले सामान्य विवाद भएको बताए। उनले महिला संघका आधिकारिक पदाधिकारी समेत उनीहरु नभएको दावी गरे। काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा बोहरालाई मनोनय गरेपछि विवाद बढ्दै गएको थियो। कांग्रेस डडेल्धुराका सभापति मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गर्दै आएका थिए। पछिल्लो समय देउवा पत्नी राणा र जिल्ला सभापति मल्लबीच खटपट बढ्दै गएपछि डडेल्धुरा काग्रेसमा विवाद झनै बढेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस