कार्यस्थलमा सकारात्मक वातावरण कसरी सृजना गर्ने ?
धनगढी: नेपालको समग्र विकासमा योगदान पुर्याउने जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण छ, तर उनीहरूका लागि उपयुक्त कार्य वातावरणको अभावमा त्यो योगदान अपेक्षित स्तरमा पुग्न सकिरहेको छैन। सरकारी तथा गैरसरकारी कार्यालयहरूमा प्रायः देखिने निराशा, असुरक्षा, पदोन्नतिको अन्यायपूर्ण प्रक्रिया, पारदर्शिताको कमी, राजनीतिक हस्तक्षेप, वरिष्ठहरूको अधिनायकवादी शैली, र सामूहिक प्रयासको अपहेलनाले कार्यस्थललाई विषाक्त बनाइरहेको छ। जब जनशक्तिहरू आफैँ असुरक्षित, असन्तुष्ट र हतोत्साहित महसुस गर्छन्, तब उनीहरूले प्रदर्शन गर्ने कार्यसम्पादन स्वाभाविक रूपमा कमजोर हुन्छ। यस्तो अवस्थामा गुणस्तरीय सेवा प्रवाह सम्भव हुँदैन, जुन दीर्घकालीन रूपमा संस्थागत क्षमतामा गिरावट ल्याउने खतरा हुन्छ। यसैले, काम गर्ने वातावरणलाई प्रोत्साहनकारी, सम्मानजनक र पारदर्शी बनाउनु आजको आवश्यकता हो। नत्र, दक्ष जनशक्ति पलायन हुने, कार्यसम्पादनमा गिरावट आउने र संस्थागत भ्रष्टाचार झन् मौलाउने खतरामा हामी पर्नेछौँ।
यस्ता समस्याको समाधानका लागि मनोवैज्ञानिक अब्राहम मास्लोको "आवश्यकताको श्रेणीकरण सिद्धान्त" मार्गदर्शक बन्न सक्छ। मास्लोले पाँच तहमा मानिसको आवश्यकता वर्गीकृत गरेका छन्: शारीरिक आवश्यकता, सुरक्षा, सामाजिक सम्बन्ध, सम्मान, र आत्मसाक्षात्कार। कुनै पनि कर्मचारीको उत्प्रेरणा यी आवश्यकताको पूर्तिमा आधारित हुन्छ। यदि तिनीहरूलाई न्यूनतम पारिश्रमिक, सुरक्षित र स्थिर रोजगारी, कार्यको कदर र विकासको अवसर प्रदान गरिएन भने उनीहरूबाट उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गर्नु अर्थहिन हुनेछ। उदाहरणका लागि, एक विद्यालयका शिक्षकलाई समयमा तलब नदिइए, उचित तालिम, पाठ्यसामग्री वा प्रविधिको पहुँच नदिइए भने उनी प्रेरित भएर पढाउन सक्दैनन्। त्यस्तै, विश्वविद्यालयका प्राध्यापकलाई अनुसन्धानका लागि स्रोत, पुरस्कार वा पेशागत उन्नतिको अवसर नदिइए भने उनीहरूको सिर्जनात्मकता कुण्ठित हुन्छ। त्यसैले कार्यसंस्कृतिमा मास्लोको सिद्धान्तलाई व्यवहारमा उतार्दै संस्थागत संरचनामा आवश्यक सुधार गरिनु आवश्यक छ, जसले जनशक्तिहरूको सन्तुष्टि, उत्प्रेरणा र कार्यसम्पादनमा गुणात्मक सुधार ल्याउन सक्नेछ।
कार्यस्थलमा व्याप्त विषाक्त व्यवहारले नकारात्मक कार्यसंस्कृति निर्माण गरी संस्थाको समग्र विकासमा बाधा पुर्याउँछ। गसिप, बदनियतपूर्ण आलोचना, अरूको श्रेय लिनेजस्ता क्रियाकलापले सहकार्य र विश्वसनीयताको भावना समाप्त हुन्छ। नेपालका धेरै विश्वविद्यालयहरूमा व्यक्तिगत सफलतालाई प्रोत्साहन गर्नेभन्दा दबाउने प्रवृत्ति देखिन्छ, जसले विशेष गरी अनुसन्धान र प्रकाशन क्षेत्रमा नयाँ शिक्षकहरूको योगदानलाई उपेक्षा गर्ने समस्या निम्त्याउँछ। यसले जनशक्तिहरूको प्रेरणा घटाउँछ, प्रतिभाको पलायन बढाउँछ र असन्तुष्टिको वातावरण सिर्जना गरी नवप्रवर्तन र गुणस्तरीय शिक्षणमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पार्दछ।
प्रेरणाको अभावले जनशक्तिहरुमा आत्मसम्मान र स्वामित्वको भावना कमजोर पार्छ, जसले संस्थागत लक्ष्यप्रति निरुत्साह र उदासीनता निम्त्याउँछ। जब उत्कृष्ट कार्यको कदर नगर्ने वा सम्मान नदिने संस्कृति रहन्छ, तब योगदानकर्ताहरू मात्र होइन, सम्भावित नयाँ प्रतिभाहरू पनि निरुत्साहित हुन्छन्। यसैगरी, जनशक्तिहरुलाई सम्मान, पहिचान र न्यायपूर्ण व्यवहारको अभावले उनीहरूको मनोबल घटाउँछ र कार्यस्थललाई विषाक्त बनाउँछ। नेतृत्वको पक्षपाती र प्रतिशोधी व्यवहारले गुटबन्दी र असहिष्णुता बढाउँछ, जसले कार्यसम्पादनको गुणस्तरमा प्रत्यक्ष क्षति पुर्याउँछ र संस्थाको दीर्घकालीन स्थायित्वमा जोखिम ल्याउँछ। त्यसैले, सकारात्मक र न्यायसंगत नेतृत्वमार्फत सम्मान, पारदर्शिता, र प्रेरणाको वातावरण सिर्जना गर्नु अत्यन्त आवश्यक छ।
नेपालका अधिकांश कार्यस्थलहरूमा जातीय, भौगोलिक, लैंगिक वा राजनीतिक पहिचानका आधारमा हुने विभेद अझै गम्भीर समस्या बनेको छ। यस्तो असमान व्यवहारले संगठनभित्र समावेशिताको भावना समाप्त पार्छ र योग्यता तथा दक्षताको सट्टा पहुँच र सम्बन्धलाई प्राथमिकता दिइन्छ। उदाहरणका रूपमा, दुर्गम क्षेत्रका शिक्षकहरू तालिम, सम्मेलन वा पदोन्नतिको अवसरबाट वञ्चित रहँदा, शहरी वा नेतृत्वसँग नजिकका जनशक्तिहरू बारम्बार फाइदा उठाउँछन्। यसले इमानदारी, योग्यता र परिश्रमप्रतिको विश्वासलाई कमजोर पार्नुका साथै संगठनको समग्र कार्यक्षमता र मनोबलमा पनि नकारात्मक प्रभाव पार्दछ।
यसरी संरचनागत विभेदले जनशक्तिहरूको मानसिक सन्तुलनमा असर पुर्याउँछ र संस्थागत विश्वसनीयतामा प्रश्नचिह्न लगाउँछ। दीर्घकालीन रूपमा, समावेशिता र समानताको अभावले संगठनलाई पतनको दिशामा धकेल्न सक्छ। त्यसैले, नेपालका सबै कार्यस्थलहरूमा समावेशी, न्यायसंगत र समान व्यवहारको सुनिश्चितता गर्दै समावेशितामूलक कार्यसंस्कृति निर्माण गर्नु अत्यावश्यक छ। यस्तो कार्यसंस्कृतिले मात्र दीर्घकालीन स्थायित्व र विकास सुनिश्चित गर्न सकिन्छ।
त्यस्तै, सञ्चार र पारदर्शिता कुनै पनि संस्थाको सुशासनका आधारशिला हुन्। आधिकारिक सूचना लुकाउने, अस्पष्ट नीतिहरू अपनाउने, वा संचारको अभावले जनशक्तिहरुमा असमझदारी, शंका, र असुरक्षाको भावना उत्पन्न गर्छ। विशेष गरी, विश्वविद्यालयजस्ता शिक्षण संस्थाहरूमा कार्यसम्पादन मूल्याङ्कनका मापदण्ड गोप्य राखेर निर्णय गर्दा योग्य र मेहनती व्यक्तिहरू वञ्चित हुने सम्भावना बढ्छ, जसले संस्थामा अविश्वासको वातावरण सिर्जना गर्छ। पारदर्शिताको अभावले न केवल निष्पक्ष मूल्याङ्कनमा बाधा पुर्याउँछ, तर संस्थाको दीर्घकालीन विश्वासनीयता र कार्यसम्पादनमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले, कार्यसंस्कृति मजबुत बनाउन संस्थागत संवाद र स्पष्ट नीतिको विकास अत्यन्त आवश्यक छ।
त्यसैगरी, कार्यस्थलमा मनोवैज्ञानिक शान्ति र सुरक्षित वातावरणले जनशक्तिहरुको उत्पादकत्वमा प्रत्यक्ष प्रभाव पार्दछ। धम्की, कटाक्ष वा अन्य कुनै असंवेदनशील व्यवहारले मानसिक असहजता सिर्जना गर्छ, जुन दीर्घकालीन रूपमा जनशक्तिहरुको सृजनात्मकता र समर्पणमा ह्रास ल्याउने खालको हुन्छ। विशेष गरी विद्यालय र क्याम्पसहरूमा स्थानीय नेताहरू वा अभिभावकहरूको अनुचित हस्तक्षेपले शिक्षकको मनोबलमा नकारात्मक असर पार्दछ। यस्तो वातावरणमा सकारात्मक ऊर्जा पैदा गर्न असम्भव हुन्छ। यसैले, जनशक्तिहरुलाई सम्मानित, सुरक्षित र प्रेरित गराउने कार्यसंस्कृति निर्माण गर्नु संस्थाको सफलता र स्थायित्वका लागि अनिवार्य हुन्छ।
कामलाई रमाइलो बनाउने प्रयासले शिक्षण संस्थामा मात्र नभई सबै पेशागत क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्न सक्छ। पाठ्यक्रमबाहिरका गतिविधि, शिक्षक दिवस, सहकर्मीहरूबीच हुने खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरूले जनशक्तिहरुबीचको सम्बन्ध सुदृढ पार्छ र कामको तनावलाई कम गर्छ। यस्तो सांस्कृतिक वा खेलकुद कार्यक्रमले संगठनभित्रको एकतालाई बलियो बनाउने मात्र नभई जनशक्तिहरुको मनोबल र समर्पणमा पनि वृद्धि गर्छ, जसलेसंस्थाको समग्र विकासमा योगदान पुर्याउँछ।
फिडब्याक संस्कृति विकास गर्ने कुरा नेपालका धेरै शिक्षण संस्थामा अझै कमजोर छ। कर्मचारी वा शिक्षकहरूको सुझावलाई नकार्नुभन्दा सुन्ने र त्यसअनुसार सुधार गर्ने अभ्यासले उनीहरूलाई संस्थासँग गहिरो सम्बन्ध जोड्न मद्दत गर्छ। उदाहरणस्वरूप, परीक्षा मूल्यांकन प्रक्रियामा शिक्षकहरूको सुझाबलाई स्वीकार गरेर लागू गर्दा निष्पक्षता र विश्वसनीयता कायम रहन्छ। साथै, कर्मचारीको व्यक्तिगत समस्याप्रति संवेदनशील भएर लचिलो कार्य तालिका बनाउनु नेतृत्वको राम्रो पक्ष हो जसले दीर्घकालीन रूपमा कर्मचारीको समर्पण र विश्वसनीयता बढाउँछ। यस्तो सम्वेदनशीलता र सहयोगी वातावरणले कर्मचारीलाई मानसिक शान्ति र कामप्रति सकारात्मक दृष्टिकोण दिन्छ।
विश्वास निर्माण र पारदर्शिताको सम्बन्ध अटुट हुन्छ; जब नेतृत्व पारदर्शी ढंगले काम गर्छ, तब शिक्षक तथा कर्मचारीहरूबीच विश्वासको वातावरण स्वतः सृजना हुन्छ। निर्णय प्रक्रियामा कर्मचारीको सहभागिता सुनिश्चित गर्नु, बैठकहरूमा खुला र स्वतन्त्र विचार व्यक्त गर्न प्रोत्साहन गर्नु, र गोप्य वा पछाडि लागेर निर्णय नगर्नु जस्ता अभ्यासहरूले पारदर्शितालाई बलियो बनाउँछ। यस्तो कार्यसंस्कृतिले संगठनमा इमानदारी र उत्तरदायित्वको भावना प्रवर्द्धन गरी दीर्घकालीन स्थिरता र विकासको मार्ग प्रशस्त गर्छ।
साना उपलब्धिहरूको समेत कदर गर्ने र प्रशंसा गर्ने संस्कारले कर्मचारीको मनोबल र प्रेरणामा गहिरो प्रभाव पार्छ। साधारण ‘धन्यवाद’, ‘स्यावास’, ‘राम्रो गर्दै हुनुहुन्छ’ जस्ता शब्दहरूले काम गर्ने उत्साह बढाउँछन् र सकारात्मक कार्यपरिवेश सिर्जना गर्छन्। साथै, निष्पक्ष कार्य प्रणालीको विकास अत्यावश्यक छ जसले योग्यता र क्षमताका आधारमा सबै कर्मचारीलाई अवसर प्रदान गर्छ। उच्च पदस्थ व्यक्तिहरूले नजिकका मानिसलाई मात्र नभई सबैलाई खुला, पारदर्शी मापदण्डअनुसार अवसर उपलब्ध गराउनु पर्छ, जस्तै विदेश तालिमका लागि छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ, जसले संस्थामा विश्वास र समर्पण दुवै बढाउँछ।
पेशागत विकासमा लगानीले संस्थाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दछ। सहकर्मीहरूबीच ज्ञान आदानप्रदान, अनुसन्धानमा सहयोग, र विभिन्न तालिम तथा कार्यशालाहरूमा प्रोत्साहन गरिनु आवश्यक छ ताकि शिक्षकहरूले अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख प्रकाशित गर्ने अवसर पाउन सकून्। यस्तो वातावरणले मात्र होइन, पेशागत विकासलाई संस्थाको मूल्यवृद्धिको मेरुदण्डका रूपमा स्थापित गर्छ र दीर्घकालीन रूपमा गुणस्तरीय शिक्षण र अनुसन्धान प्रवर्द्धन गर्छ।
कर्मचारीको सक्रिय सहभागिता बिना निर्णय प्रक्रिया पूर्ण हुँदैन। कुनै पनि निर्णयले कर्मचारीहरूको काम र जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले उनीहरूको राय लिनु आवश्यक छ, जसले निर्णय कार्यान्वयनमा सहजता ल्याउँछ। नयाँ समयतालिका निर्माण जस्ता विषयमा शिक्षकहरूको सुझाव समावेश गर्दा कार्यक्षमता र सन्तुष्टि दुवै वृद्धि हुन्छ। कार्यस्थलमा इमानदारी, समयपालन, उत्तरदायित्व र सहयोगी भावना जस्ता नैतिक संस्कारहरू विकास गरिनु जरुरी छ, जसले संगठनको दीर्घकालीन सफलतामा योगदान पुर्याउँछ। समग्रमा, नेपालको शिक्षा क्षेत्रसहित सबै कार्यक्षेत्रहरूमा सकारात्मक, समावेशी, र प्रेरणादायी कार्यसंस्कृति विकास गर्नु वर्तमान आवश्यकता हो। नीति मात्र नभई व्यवहारमा पनि यी सुधारहरू लागू गर्दा मात्र देशले समृद्धि र स्थायित्वतर्फ दृढ पाइलो चाल्न सक्छ।
लेखक: डम्मर सिंह साउद
उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पस