सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा स्तरबृद्धीको कार्य रोकियो

२०७६ साउन ८, ०४:२३ नवराज पनेरु

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य झण्डै एक महिनादेखि रोकिएको छ। बर्खा सुरु भएपछि असार दोश्रो सातादेखि स्तरबृद्धीको कार्य रोकिएको धनगढी विमानस्थलले जनाएको छ। बैशाख २२ गतेदेखि विमानस्थल नै बन्द गरेर स्तरबृद्धीको कार्य सुरु गरिएकोमा जेठ २९ गतेदेखि भने विमानस्थल सुचारु रहेकै अवस्थामा स्तृरबृद्धीको कार्य पनि भईरहेको थियो। 

धनगढीका विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले अझै पनि विमानस्थलमा पार्किङ क्षेत्र विस्तारसंगै धावनमार्ग फराकिलो बनाउने कार्य बाँकी रहेको बताए। ‘विमानस्थल बन्द रहेको समयमा धावनमार्ग जिर्ण रहेको क्षेत्रमा ८ सय ५० मिटर लम्वाई र साढे ४ फिट गहिराईको खाडल पुर्दै कालोपत्रे सम्पन्न भएको थियो,’ उनले भने, ‘सो अवधीमा धावनमार्गमा ओभरलेको काम पनि अन्तिम चरणमा पुगेको थियो।’ जेठ २९ गतेपछि बाँकी काम सुरु गरिएकोमा त्यस्को दुई साता भित्रै पानी पर्न थालेपछि विमानस्थल स्तर बृद्धीको कार्य रोकिएको उनले बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठका अनुसार अव धनगढी विमानस्थलमा झण्डै ४ सय मिटर धावन मार्गमा ओभरले, पार्किङ क्षेत्र विस्तार, नाली निर्माण र धावनमार्गको दुवै तर्फ २–२ मिटर फराकिलो पार्ने कार्य बाँकी रहेको छ। उनले बर्खा सकिएको एक साता भित्रै काम सुरु गरेर निर्धारित समय भित्रै स्तरवृद्धीको कार्य सम्पन्न गर्ने दावी गरे। 

बैशाख २२ गतेदेखि स्तरबृद्धीको कार्य सुरु भएपनि स्तरबृद्धीका लागि लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभीसंग एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि चैत १ गते नै ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीका सञ्चालक रत्नवहादुर खड्काले मंसिर महिना भित्रै निर्माण सम्पन्न गर्ने दावी गरे। उनले अहिले सम्म ७५ प्रतिशत स्तरबृद्धीको कार्य सम्पन्न भईसकेको बताउँदै बाँकी कार्य बर्खा सकिएको केही दिनमै सम्पन्न गर्ने दावी गरे। 

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्ग दुवैतर्फ २÷२ मिटर फराकिलो हुने छ भने अहिले तीन वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अव थप दुई जहाज पार्किङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार गरिने छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस