सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अल्पमतमा रहेका स्थानीय सरकारका प्रमुख समस्यामा

फोटोमा क्रमशः पर्शुराम नगरपालिकाका प्रमुख भीम बहादुर साउँद, पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्द, अमरगढी नगरपालिकाका प्रमुख विपीन ओझा र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज वोगटी
फोटोमा क्रमशः पर्शुराम नगरपालिकाका प्रमुख भीम बहादुर साउँद, पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्द, अमरगढी नगरपालिकाका प्रमुख विपीन ओझा र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज वोगटी
२०७६ साउन ८, १२:३१ जनक विष्ट

बैतडीको पाटन नगरपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएपनि कार्यपालिका र नगरसभामा नेकपाको बहुमत रहेको छ। कार्यपालिकामा नेकपाका ३८ जना बहुमत सदस्य रहेका बेला नेपाली कांग्रेसका १७ जना मात्र रहेका छन्। कार्यपालिका र नगरसभामा बहुमत नभएकै कारण पाटन नगरपालिकाका प्रमुखले कार्य सम्पादनमा समस्या खेप्दै आएको बताएका छन्।

नगर प्रमुख अल्पमतमै भएका कारण अन्य स्थानीय तहमा चालु वर्षको बजेट कार्यान्वयनको चरणमा गईसकेका बेला पाटनमा भने अझै बजेट पारित हुन सकेको छैन् भने गत वर्ष पनि असोजमा मात्र बजेट पारित भएको थियो। पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले आफू अल्पमतमा हुँदा काम गर्न जटिलता खेप्नु परेको सुनाए।

उनले चालु वर्षको बजेटमा आफूले एक मेगावाटको विद्युत उत्पादन गर्ने, जेसिबी खरिद गर्ने, खोकाछाप्रा व्यवस्थापनको नीति, कार्यालय प्रयोजनका लागि एउटा गाडी खरिदका लागि बजेट विनीयोजन गरेको भएपनि सोही विषयलाई लिएर नेकपाले बखेडा झिकेको बताए। चन्दले नेकपाको बहुमत भएकै कारण जनमुखी काम गर्न खोज्दा समेत अवरोध सिर्जना गरिदा विकास निर्माणका काममा पनि बाधा पुगेको गुनासो गरे।

उनीहरुले आफू अनुकुलका काम गराउन खोज्ने प्रवृत्ति हुँदा आफू समस्यामा परेको नगर प्रमुख चन्दले जनाए। तर पाटन नगरपालिकाका प्रवक्ता समेत रहेका नेकपाबाट निर्वाचित कार्यपालिका सदस्य लोक बहादुर भण्डारीले आफूहरुमा बहुमतको कुनै खालको दम्भ नभएको दावी गरे। उनले नगर प्रमुखको असक्षमताका कारण हाल सम्म बजेट पारित नसकेको बताए। भण्डारीले नेकपामा बहुमतको दम्भ नभई नगर प्रमुख चन्दको असक्षता भएकाले उक्त परस्थिती सिर्जना भएको टिप्पणी गरे।

डेल्धुराको पर्शुराम नगरपालिकामा पनि कार्यपालिका र नगरसभामा नेकपाको बहुमत रहेको छ भने नगर प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। नेकपाबाट निर्वाचित जनप्रतिनिधीले बहुमतकै आधारमा बेला बेला अनावश्यक कुरालाई लिएर बखेडा झिक्ने गर्दा समस्या हुदै आएको बताउँदै पर्शुराम नगरपालिकाका प्रमुख भीम बहादुर साउँदले बताए। ती चुनौतीका बिच पनि आफू जनताको पक्षमा काम गरिरहेको उनी बताउँछन्।

नेकपा मात्र नभएर कांग्रेसको बहुमत भएका स्थानीय तहका प्रमुख तथा अध्यक्ष पनि समस्यामा परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिकामा कार्यपालिका र नगरसभामा कांग्रेसको बहुमत रहेको छ भने प्रमुख उपप्रमुख नेकपाबाट विजयी भएका छन्। नगर प्रमुख विपीन ओझाले कार्यपालिका र नगरसभामा आफू अल्पमतमा हुँदा काम गर्न चुनौती रहेको सुनाए।

उनले नगरबासीको हितमा काम गर्न खोज्दा पनि अवरोध सिर्जना गर्ने प्रवृत्तिकै कारण जनअपेक्षा अनुसारका काम गर्न नसकिएको जनाए। डोटीको पूर्वीचौकी गाउँपालिकामा पनि अध्यक्ष नेकपा र कार्यपालिका, नगरपालिकामा कांग्रेसको बहुमत रहेको छ।

जसका कारण बेला बखत समस्या खेप्दै आएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले आफू अल्प मतमै भएका कारण तीन–तीन महिना सम्म कार्यपालिकाको बैठक समेत राख्ने नसकेको अवस्था रहेको बताए। कानून निर्माण र विकास निर्माणका काममा समेत समस्या भएको उनी सुनाउँछन्।

पालिकाको नेतृत्व तहमा बस्ने व्यक्तिले आफू अनुकुलका निर्णय र कार्य सम्पादन गरेमा खबरदारी गर्नु सकारात्मक पक्ष भएपनि बहुमतलाई देखाएर जनपक्षिय काममा समेत अवरोध सिर्जना गर्ने क्रम बढ्दै गएको छ। जसका कारण स्थानीय स्तरमा हुने विकास निर्माणका काम समेत प्रभावित हुदै आएका छन् भने आन्तरिक खिचातानीकै कारण समयमै बजेट कार्यान्वयन नगरिदा ठुलो बजेट फ्रिज जाने क्रम पनि रोकिएको छैन्।      
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस