बैतडीमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम हुदै
बैतडीः जिल्लाको दुर्गम र पहुँचविहीन क्षेत्रका नागरिकलाई सहज र छरितो सेवा प्रवाह गर्न जिल्लाका स्थानीय तहहरू मार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम तीव्र रुपमा अगाडि बढाइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय पुर्चाैडीबाट सञ्चालन हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको कार्यलाई स्थानीय तहको पहलमा विस्तार गर्दै डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा दर्ता शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए। सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले नागरिकले सदरमुकामसम्म आउनुपर्ने अवस्था र सहजताको अभावले समस्या भोग्दै आएका छन्।
यसलाई मध्यनजर गर्दै गाउँ–नगरपालिकाबाटै परिचयपत्र विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। यसअघि दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन गरिएको शिविरबाट करिब एक हजार ५०० नागरिकको विवरण सङ्कलन भइसकेको उनले बताए।
डिलाशैनी गाउँपालिका– ६ को कार्यालय डडियामा र मेलौली नगरपालिकाको कार्यालयमा सञ्चालित दर्ता शिविर साउन मसान्तसम्म र भदौ १ गतेसम्म क्रमशः सञ्चालन गरिने छ। गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सञ्चालन भएको उक्त शिविर सामाजिक सुरक्षा भत्ताका लाभग्राही तथा स्थानीय नागरिकका लागि अत्यन्त उपयोगी सावित हुने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
यस्तै मेलौली नगरपालिकामा भने आगामी भदौ २ र ३ गते सलेना क्षेत्रमा पनि शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिए । जिल्लाका सिगास, पञ्चेश्वर, सूर्नया लगायतका अन्य दुर्गम गाउँपालिकामा पनि निकट भविष्यमै यस्ता दर्ता शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ। पुर्चाैंडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत तथा दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्र वितरणको काम निरन्तर रुपमा भइरहेको छ।
जिल्ला प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै राष्ट्रिय परिचयपत्र वितरण र विवरण सङ्कलनमा अझै छरितो र प्रभावकारी सेवा प्रवाहमा जोड दिएको छ । यस कार्यबाट जिल्लाका सबै नागरिकले सरकारी सेवा तथा विभिन्न अवसरहरूमा परिचयपत्रको सहज पहुँच पाउने विश्वास व्यक्त गरिएको छ।