सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल

२०८२ साउन २७, ०६:२३ कमल सावद

धनगढीः सहरी विकासले धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल भएको बताएको छ।

धनगढी उपमहानगरपालिका–२ र ३ को ६ लेन सडकको दुबै क्षेत्रमा निर्माण थालिएको नालीमा पानी बगेको हो।

माघ ९ गतेबाट निर्माण सुरु भएको नालीमा बर्सातको पानी बगेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले बताएको छ। तर, निर्माणको ३५ प्रतिशत मात्र काम मात्र पूरा भएको छ। मोहना नदीदेखि धनगढी चौराहसम्मको ६ लेन सडकमा दोहोरो नाली निर्माणको काम पूरा नहुँदै बर्सातको पानी बगेको सहरी विकासका इन्जिनियर पुष्प भट्टले बताए। उनले भने, “हामीले पानी बग्नेसम्मको नाली बनाएका थियौ। यो बर्सातमा पानी बगेको छ। वर्षा भएको दिन म गएको थिए। राम्रोसँग पानी बगेको छ। नाली भएको क्षेत्रमा अब बुडान हुँदैन। योजना सफल भएको छ। तर, काम ३५ प्रतिशतको हाराहारीमा भएको छ।”

धनगढी उपमहानगरपालिका–२ र ३ क्षेत्रको बर्सातको पानी मोहना नदीमा फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईले मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि ठेक्का मार्फत काम गर्दै छ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर लामो नाली निर्माणको ठेक्का भएको हो। पूर्वी क्षेत्रमा ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसामा सनराइज÷चन्द्र विकाश÷मस्टा जेभीले काम गर्दै छ। सहरी विकासले ३५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ। निर्माण कम्पनीले २४ प्रतिशत भुक्तानीसमेत लिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पश्चिम क्षेत्रमा सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसामा एमबी÷शुभलक्ष्मी÷आदर्श जेभीले गर्दै छ। पश्चिम क्षेत्रमा पनि भौतिक प्रगति ३५ प्रतिशत रहेको छ। “पानी परेको समयमा धनगढीको अन्य क्षेत्र डुबान भयो। तर, नाली निर्माण भएको क्षेत्रमा डुबान भएन। भन्सारदेखि चौराहसम्म नाली निर्माण गर्दैछौ। मोहना नदीसम्म पानीलाई राम्रो निकास भएको छ। हामीले अनुगमन गरेका थियौ। धनगढीको डुबान समस्या समाधान हुनेछ।Þ”

मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माण गरिदैछ। बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्मरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत गोलहरूसमेत निर्माण गरिने छन्। निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। तर, ६ महिना अगाडी नै काम पूरा गर्ने निर्माण कम्पनीहरूको दाबी छ।

धनगढी क्षेत्रको ६ लेनमा ५ किलोमिटर नाली निर्माण गरिने

धनगढी उपमहानगरपालिकाले डुबान समस्या समाधान गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो। मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीको पश्चिमी क्षेत्रमा ढुबान हुँदै आएको तर्क धनगढी उपमहानगरपालिकाको छ। धनगढीको पश्चिमी क्षेत्रको डुबान समस्या समाधान गर्न सडक क्षेत्रको दुबैतिर नाली निर्माण गर्ने योजना रहेको छ।

विशालनगर र चटकपुरको डुबान समस्या समाधान गर्न २ मिटर अग्लो नाली निर्माणको काम जारी छ। तर, धनगढी उपमहानगरपालिकाको विस्तृत योजना प्रतिवेदन अनुसार काम भएको छैन। बजेट अभावका कारण पहिलो चरणमा मोहना नदीदेखि चौराहसम्म मात्र दोहोरो नाली निर्माण थालिएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने मोहनापुल–अत्तरिया ६ लेन सडकमा ५ किलोमिटर दोहोरो नाली निर्माण गर्ने योजना उपमहानगरपालिकाको छ।

मोहना नदीदेखि पाँच किलोमिटरसम्म ढक्कनसहितको पक्की नाली चरण–चरणमा निर्माण हुने छ। पहिलो चरणको ३५ प्रतिशत काम सकिएको हो। बजेट अभावका कारण विस्तृत योजना अनुसार ठेक्का सम्झौता गर्न नसकिएको सहरी विकासले बताएको छ। सहरी विकासका इन्जिनियर भट्टले भने, “बजेट अभावले काम मात्र ठेक्का गरेका हौ। पहिलो चरणको काम सकेपछि अझै बढाउछौ। विमानस्थलको गेटदेखि माथिसम्मै नाली निर्माणको मास्टर पलान छ। सोही अनुसारको काम हुन्छ। पहिलो चरणको काम सकिएपछि दोस्रो चरणको ठेक्का गर्छाै।” नाली निर्माणपछि धनगढी उपमहानगरपालिका–३, २, ४ र १३ नम्बरको डुबान समस्या समाधान हुने अपेक्षा गरिएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस