युवा शक्तिलाई नवप्रवर्तनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शाह
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवा शक्तिलाई नवप्रवर्तनसँग जोड्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरुलाई रुपान्तरणको सद्भाव र परिवर्तनको सम्वाहक भएको संज्ञा दिए। युवावर्गलाई प्रदेशमै रोजगारी दिनका लागि प्रदेश सरकारले युवा जनशक्ति नवप्रवर्तन,स्टार्टअपका साथै सीप तथा रोजगारी कार्यक्रम ल्याएको उनले बताए।
साथै उनले युवा वर्गलाई लागुऔषध सम्बन्धी जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताए। कार्यक्रममा मुख्यमन्त्री शाहले टीकापुरका अरुण लोहारलाई एकलाख आर्थिक सहयोग तथा वृद्धि विकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताए। लोहारले देशका विभिन्न स्थानहरुमा निःशुल्क खगोल विज्ञान सम्बन्धी क्रियाकलाप गर्दै आएका छन।