सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने

२०८२ साउन २५, ०३:४१ खबर संवाददाता

धनगढीः वाल्मीकि इन्टरनेशनल स्कूल, हसनपुर–धनगढीले पहिलो पटक “बाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ।

प्रतियोगिता आगामी भदौ ५ देखि ७ गतेसम्म वाल्मीकि फुटसल एरेनामा हुने विद्यालयले जनाएको छ। विद्यालयले यसअघि दुई पटक एसइई कप र एकपटक कर्पोरेट च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न गरेको छ। यो पटक आयोजना हुन लागेको प्रतियोगितामा धनगढी र आसपासका विद्यालयका कक्षा १० सम्मका विद्यार्थी टोली सहभागी हुनेछन्। फुटसलको मानक नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच खेलकुदमैत्री सम्बन्ध वृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार, द्वितीय हुने टोलीलाई २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र उच्च गोल गर्ने खेलाडीलाई पनि विशेष सम्मान दिइनेछ। विद्यालयले सबै विद्यालय, खेलकुदप्रेमी तथा सञ्चारमाध्यमलाई प्रतियोगिता अवलोकन र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरेको छ। प्रतियोगितामा कम्तिमा १६ समूह सहभागी गराउने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक द्रोणाशिष न्यौपानेले बताए।

 प्रतियोगितामा भाग लिन इच्छुक विद्यालयले समूह दर्ता शुल्क ५ हजार तिर्नुपर्ने छ भने विजेता समूह मध्ये प्रथम हुने समूहलाई ३० हजार तथा दोस्रो हुने समूहलाई २० हजार पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ। प्रतियोगिता भदौ ५,६ र ७ गते हुनेछ।
 

कमेन्ट लोड गर्नुस