सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागार घटना छानबिन गर्न समिति गठन

तस्बिर: भानुभक्त आचार्य
तस्बिर: भानुभक्त आचार्य
२०८२ साउन २४, ०४:३०

कैलालीः कैलाली कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यी छानबिन समिति गठन गरिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको हो। शुक्रबारराति कैदीबिच झडप भएपछि विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। 

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त र जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह रहनुभएको छ। सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहनु भएको छ।

छानबिन समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहनु भएका सदस्य सचिव जोशीले जानकारी दिए।  शुक्रबार राति करिब पौने १ बजे दुई पक्षका कैदीबिच झडप भएको थियो। उनीहरूबिच जिम गर्ने सामग्रीले हानाहान भएको सूचना आएको कारागारका खरिदार रामप्रसाद चौधरीले जानकारी दिए।

झडपमा परी धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ। ४७ जना घाइते भएका छन्। उनीहरूको टाउको, हात, मुख लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस