सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली भगवति मन्दिरमा पूर्वाधार निर्माणको काम अलपत्र

२०८२ साउन २२, ०२:४८ खबर संवाददाता

बैतडीः बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन्। समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो।

आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन्। निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी दिए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो। जसअन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो।

कुल सात करोडमा आर्थिक वर्ष २०७७.०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे तीन करोडमा ठेक्का सम्झौता गरेको थियो। हालसम्म निर्माण कम्पनीले एक करोड बजेट भुक्तानी पाइसकेको छ। काम पनि ५० प्रतिशत पनि नपुगेको मेलौली नगरपालिकाको योजना शाखाले जनाएको छ।  

सम्झौता अनुसार छ वटा गेटहरु, दुई वटा पार्कसहितको पोखरी, १३४ रोपनी क्षेत्रमा घेरपर्खाल लगाउने र देवन्वालोदेखि मन्दिरसम्म पिसिसिबाटो निर्माण गर्ने योजना थियो। सो अनुसार देवन्वालोदेखि मन्दिरसम्मको पिसिसी बाटो बाहेक अन्य कुनै पनि काम सम्पन्न हुन नसकेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए।

यस क्षेत्रको महत्वसँग जोडिएको यस मन्दिर व्यवस्थापनका लागि आएको बजेटलाई पालिकाले चाँसो दिनुपर्ने नायकले बताए। मेलौली भगवति मन्दिर देशरीमा उत्कृष्ट एक सय पर्यटन गन्तव्यको सूचीमा परेको धार्मिक क्षेत्र हो। यस मन्दिर परिसरमा आवश्यक पूर्वाधार निर्माणका लागि पालिकासँगको संयुक्त साझेदारीमा योजना अघि बढाउन मन्त्रालयले ५५ प्रतिश्त बजेट सुनिश्चित गरेको थियो।

मेलौली नगरपालिकाका अनुसार मन्त्रालयले सुनिश्चित गरेको  बजेट निकासा नगर्दा योजना समयमा सम्पन्न हुन नसकेको जनाएको छ ।

एक पटक मात्रै करिब ४० लाख बजेट मन्त्रालयले पठाएको र नगरपालिकाबाट बाँकी रकमगरी एक करोडबढी निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले जानकारी दिए। 

यहाँबाट कार्यसम्पादन भएका योजनाको सबै विवरणहरू पटकपटक पेस गरेको भए पनि मन्त्रालयले बजेट नपठाएपछि योजनामा ढिलाइ भएको उनले बताए। मन्त्रालयले बजेट नपठाएकै हुनाले योजना समयमा सम्पन्न हुन नसकेको मेलौलीका नगर प्रमुख भीमबहादुर चन्दले बताएका छन्। 

चालु आर्थिक वर्षमा पनि नगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको उनले बताए। निर्माण भइरहेका योजनाहरू हालसम्म पनि सम्पन्न नहुँदा मेलौलीको सौन्दर्यता मासिन पुगेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताए। 
 

कमेन्ट लोड गर्नुस