महिला विरोधी कानुन नल्याउन महिला सङ्घ ध्यानाकर्षण
काठमाडौँ: नेपाल महिला सङ्घले बहुविवाहसम्बन्धी कानुन निर्माण हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
सङ्घको बागमती प्रदेश समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई एक ज्ञापनपत्र बुझाउँदै महिला विरोधी कानुन निर्माण नगर्न आग्रह गरेको हो। नेपाली महिलाहरुले पितृसत्तात्मक उत्पीडनवाट मुक्ति पाउनका लागि धेरै लामो सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै सङ्घले विभिन्न आन्दोलनवाट प्राप्त अधिकार तुहाउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरेको छ।
राजनीतिक प्रतिनिधित्वमा गठबन्धनको कारण सहभागिता घटेको, विवाहको उमेर घटाएर महिलालाई उत्पादन सम्बन्धसँग जोडिन र घरको चौघेरोबाट बाहिर आउन नसक्ने वातावरण सिर्जना गर्ने, कानूनी व्यवस्था जस्ता प्रयासहरु भइरहेकामा सङ्घको गुनासो छ। मुलुकी अपराध संहिता , २०७४ लाई संशोधन गरी निश्चित परिस्थितीमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण भएको सङ्घका अध्यक्ष विमला चौलागाईं शर्माले उल्लेख गरिन्।