६२ नेपाली कैदीलाई माफी दिएपछि नेपाल सरकारद्धारा साउदी अरबप्रति आभार व्यक्त

काठमाडौंः नेपाल सरकारले साउदी अरेबियाले ६२ जना नेपाली कैदीलाई माफी दिएकोमा विशेष आभार प्रकट गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार, साउदी सरकारले इद र १४४६ हिजरी वर्षको अवसरमा मानवतावादी भावनासहित यो निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ,
“नेपाल सरकार, परराष्ट्र मन्त्रालयले साउदी अरेबियाली सरकारप्रति ६२ जना नेपाली कैदीलाई माफी दिने मैत्रीपूर्ण कदमका लागि विशेष धन्यवाद र कृतज्ञता व्यक्त गर्दछ।”
मन्त्रीस्तरीय समन्वय र साउदीका सम्बन्धित अधिकारीहरूसँगको सहमतिपछि यी कैदीहरूलाई नेपाल फर्काउने प्रक्रिया अगाडि बढाइनेछ। मन्त्रालयका अनुसार, कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि साउदी जेलमा रहेका ६२ जना नेपाली नागरिकलाई नेपाल ल्याइनेछ।
नेपाल सरकारका तर्फबाट साउदी अरेबियासँग कूटनीतिक सम्बन्ध अझ सुदृढ बनाउन र त्यहाँ रहेका अन्य नेपाली श्रमिकको हितका लागि आवश्यक पहलहरू निरन्तर जारी राखिने समेत बताइएको छ।


यसअघि पनि विभिन्न अवसरहरूमा साउदी अरेबियाले मानवीय आधारमा विदेशी कैदीलाई माफी दिने परम्परा रहेको छ।