बडीमालिकाको पूजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान
बाजुराः बडीमालिकाको पूजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ।
सु–प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलका रूपमा चिनिने बडीमालिकाको पूजाका लागि औपचारिक रूपमा बाजुराबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको हो। जनैपूर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात् साउन २३ गते लाग्ने विशेष पूजा एवम् मेलामा सहभागी हुन सहायक प्रमुख जिल्ला अधिकारी शीतल रावल नेतृत्वको सरकारी टोली बडीमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।
मङ्गलवार बिहान सदरमुकाम मार्तडी स्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीको सलामी सहित सरकारी टोलीको बिदाइ गरिएको हो। सो अवसरमा जिल्ला स्थित बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरूका आ–आफ्नै पूजा टोली समेत त्यसतर्फ प्रस्थान गरेका छन्।
यस अघि पूजाको डोली बोकेर कालीकोट, जुम्ला, डोटी र धनगढीबाट सरकारी टोली बाजुरास्थित बडीमालिका मन्दिर प्रस्थान गरिसकेको छ। परापूर्व कालदेखि बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार उक्त जिल्लाको सरकारी टोली डोलीसहित बडीमालिका मन्दिरतर्फ लागेको हो। हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ।
बडीमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ। नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडीमालिका पुग्ने गर्छन्।