शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम १० अर्ब ८२ कराेड रुपैयाँमा सीमित
काठमाण्डाै: लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४६ अङ्कले बढेर २ हजार ८ सय ७५ दशमलव ३६ विन्दुमा पुगेकाे छ ।
आज विकास बैंक, फाइनान्स, होटल, उत्पादन, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर झन्डै ७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन ट्रेड टावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका २ करोड ७१ लाख कित्ता शेयर १० अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ । गएको सोमवारयता कारोबार रकम घटिरहेको छ ।