सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको सिद्धेश्वरी आधारभूत विद्यालयमा सुविधायुक्त छात्रावास निर्माण हुँदै

२०८२ साउन १८, ०४:४० खबर संवाददाता

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ।

यस विद्यालयमा प्रायः अनाथ तथा भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन्। २०७९ देखि यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ तथा भोटे समुदायका बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरेको छ। विद्यालयले यहाँ बस्ने गरेका बालबालिकालाई खाना, लगाउने कपडालगायतको राम्रो व्यवस्था गर्दै आएको भए पनि उनीहरूलाई राति बास बस्नका लागि भने यहाँ राम्रो भवन नहुँदा समस्या थियो। 

विद्यालयले उनीहरूलाई कर्कट पाताले छाएको छाप्रोमा राखेर पढाउने गरेको थियो। यहाँ पढ्ने ती अनाथ बालबालिका पनि त्यही सानो छाप्रोमा बस्ने गरेको थिए। करिब तीन वर्षअघि बाजुरामा आएको भूकम्पका कारण छाप्रो नष्ट भएको थियो।

हिउँदको महिना यहाँ सधैँ बाक्लो हिमपात हुने गरेको र हिउँ परिसकेपछि त्यो हिउँ लामो समयसम्म रहने भएकाले यहाँका शिक्षकशिक्षिकाले उनीहरूको पठनपाठन नरोकिने गरेर त्यही बाक्लो हिउँमाथि बेन्च राखेर कक्षा सञ्चालन गरेका थिए। स्विजरल्यन्डको नेफा संस्थाको तीन करोडभन्दा बढीको आर्थिक सहयोगले सो विद्यालयमा छात्रावास, भान्छा घर, शौचालयसहित १६ कोठे भवन निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक तुलाबहादुर थापाले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस