अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम

अमेरिकाः अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको छ। अमेरिकामा आठ सय २९ किलोमिटर अर्थात् पाँच सय १५ माइलसम्म फैलिएको चट्याङ प्रकाशले कीर्तिमान बनाएको बीबीसीले जनाएको छ।
विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो। यसले यसअघिको कीर्तिमानलाई ५० माइलभन्दा धेरैले तोडेको हो।
सङ्गठनको अमेरिका, ब्राजिल, जर्मनी, स्पेन, नेपाल, इजरायलमा रहेका विज्ञहरूको ११ सदस्यीय समितिले नयाँ कीर्तिमान प्रमाणित गरेको छ। संयुक्त राष्ट्रसङ्घको मौसम मामिला निकाय (डब्ल्यूएमओ) का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो।

यो चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई झन्डै आठदेखि नौ घण्टा र हवाईजहाजलाई झन्डै ९० मिनेटको समय लाग्ने खबरमा उल्लेख छ। यसअघि सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा सात सय ६८ किलोमिटर अर्थात् चार सय ७७ माइल लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको थियो।


