सुदूरपश्चिममा एक वर्षमा १० अर्बको भौतिक पूर्वाधार निर्माण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताए।
गत आर्थिक वर्षमा मात्र प्रदेशमा १०६ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक र एक वर्षमा छ वटा सडक पुल निर्माण भएको उनले बताए। सरकारी तथा सामुदायिक भवन छ वटा निर्माण गरिएका छन्। जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी आवास र तीन वटा एकीकृत आवास निर्माण भएको इन्जिनियर शर्माले बताए। २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, कभर्ड हल दुई वटा, पार्क तीन वटा, खेल मैदान १० वटा निर्माण गरेको जनाइएको छ।

प्रदेश सरकारको लगानीमा २६ किलोमिटर तटबन्ध निर्माण भई ३७ हेक्टर जमिन नदी कटान हुनबाट उकास गरिएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ। सिँचाइ सुविधा विस्तारका लागि २४१ किलोमिटर पक्की कुलो, दुई किलोमिटर कच्ची कुलो, ३२ वटा डिप ट्युबेल, १६६ वटा सिँचाइ पोखरी र ७६ किलोमिटर पाइपलाइन निर्माण भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १४ अर्ब ४१ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चार अर्ब पूर्वाधार विकास बजेट खर्च हुन नसकेको मन्त्रालयले जानकारी दिएको छ।

