लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्छः गृहमन्त्री लेखक
काठमाडौंः गृहमन्त्री रमेश लेखकले लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै उनले यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताका हुन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधनको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका थिए।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागूऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्दै लागूऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताए।

नेपाल प्रहरीले संचालन गरेको लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागूऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।


गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।