मानव अधिकारका लागि महिला एकल महिला समूह कैलालीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, मनोदरी भण्डारी अध्यक्षमा निर्वाचित
मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लुएचआर) कैलालीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम समूहकी जिल्ला अध्यक्ष भगवती हमालको सभाध्यक्षतामा सम्पन्न भएको हो।
अधिवेशनमा राष्ट्रिय मानव अधिकार आयोग (NHRC) सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने गोमा आचार्य र शान्ति महत विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। नव निर्वाचित कार्यसमितिको अध्यक्षमा मनोदरी भण्डारी चयन भएकी छन्। त्यसैगरी उपाध्यक्षमा धना कुमारी ओझा, सचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा वेद अवस्थी तथा सहसचिवमा बिमला देवल चयन भएका छन्।
अधिवेशनमा सहभागी वक्ताहरूले एकल महिलाका हकअधिकार संरक्षण, सामाजिक सशक्तीकरण तथा आर्थिक आत्मनिर्भरताका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए। नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउन आग्रह गरिएको थियो।