माया मेट्रो अस्पताल र परिश्रमी बहुउद्देश्यीय सहकारी संस्थाबीच सेवा छुट सम्बन्धी सम्झौता
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरमा अवस्थित माया मेट्रो अस्पताल प्रालि र परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सेवा छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डाक्टर मोहन साउँद र सहकारीका तर्फबाट अध्यक्ष अक्कलबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सहकारीका शेयर सदस्य, शेयर सदस्यका परिवार र कर्मचारीहरूले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउने छन्। अस्पतालमा उपचारको क्रममा सेवा लिने बेला सहकारी सदस्यले आफ्नो परिचय खुलाउने कागजात पेश गरेपछि मात्र छुटको व्यवस्था लागू हुनेछ।
सहकारीका सदस्य र परिवारका सदस्यहरूले ल्याब सेवामा २० प्रतिशत छुट आउनेछन् भने बेड चार्जमा, आइसियू, एनआइसियू र क्याबिन, टिएमटी, एबिपी र होल्टरमा पनि २० छुट पाउनेछन्। सम्झौतामा बिरामीले युसिजी, इको, इन्डोस्कोपी र सिटिस्क्यानमा १५ प्रतिशत छुट पाउनेछन् भने फार्मेसी सेवा र शल्यक्रिया सेवामा साढे सात प्रतिशत छुट पाउने सम्झौता भएको सहकारीका अध्यक्ष सिंहले बताए।
सम्झौता पत्र प्रत्येक २ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ भने सम्झौतालाई दुबै संस्थाका प्रतिनिधिहरूले स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउने अवसरको रूपमा लिएको बताएका छन्।