सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध

२०८२ साउन १३, ०५:४६ खबर संवाददाता

बाजुराः मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको करिब एक महिना भयो। एक महिना बितिसक्दा पनि सडक खुल्न सकेको छैन। 

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयवासी र बटुवाले सास्ती खेप्न बाध्य छन्।  बर्खा यामको समयमा उक्त सडक खण्ड अवरुद्ध हुँदा आवतजावत देखि खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ। सडक माथिबाट पहिरो आएर अवरुद्ध भएको सडकलाई मर्मत गर्न नसक्दा मार्तडी कोल्टी सडक खण्डको तिन ठाउँमा सडक बिग्रिएको छ।

विशेष गरी पुर्वीउत्तरी क्षेत्रका चार वटा पालिकाका नागरिकहरूले ठुलो समस्या भाग्नुपरेको अवस्था छ। मार्तडी कोल्टी सडक खण्डमा पर्ने बडीपालिका नगरपालिका ७ को जिल्ली, रजातोली र भ्यासुपातलमा सडक अवरुद्ध हुँदा नागरिकहरूलाई गाडीको यात्रा गर्न निकै कष्टकर बनेको छ। मार्तडी कोल्टी सडक खण्डको ४२ किलोमिटर सडकमा चार वटा गाडी बदल्नुपर्ने बाध्यता रहेको छ। मार्तडी कोल्टी सडक खण्ड सङ्घीय सडक भएता पनि यसको रेखदेख तथा मर्मत निर्माण कार्य सडक पूर्वाधार विकास कार्यालय अछाम अन्तर्गत हो। तर सडक सुचारु गर्न उक्त कार्यालयको ध्यान नदिएको स्थानीय उमेश रोकायाले बताए। 

यहाँका नागरिकहरूले मार्तडी कोल्टी सडक खण्डमा चार वटा गाडी बदल्दै मार्तडी आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए।  मार्तडी कोल्टी सडक खण्डमा १५ सय भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता रहेको हांशि संन्ज्यालले बताए। 

यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मार्तडी कोल्टी सडक खुलाउने प्रयास भइरहेको बताएका छन्। उनले नागरिकहरूका समस्याहरूलाई स्वीकार गर्दै सम्बन्धित निकायलाई सडक खुलाउन ताकेता गर्दै आएको बताए। यहाँका सम्बन्धित पालिकाहरूलाई सडक सुचारु गर्न आग्रह गर्दा पनि सुनुवाइ नगर्ने गरेको प्रजिअ पाध्याको भनाई छ। 

मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध हुँदा नागरिकहरूले ठुलो दुख पाएको बताउँदै सम्बन्धित पालिका र सडक पूर्वाधारलाई यसको मर्मत कार्य गरी सडक तत्काल सुचारु गर्न निर्देशन दिएका छन्।  
 

कमेन्ट लोड गर्नुस