सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा

प्रधानमन्त्री ओलीद्धारा मुख्य इन्टेक निरिक्षण

२०८२ साउन १३, ०४:५८ खबर संवाददाता

टिकापुरः राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ । आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो। अद्यावधिक गुरुयोजना अनुसार २०८२ मसान्तसम्म २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँको काम हुनुपर्नेमा २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

पूरा भएको काममा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ। आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४.७१ मेगावाटको विद्युत् उत्पादन भएको छ। लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ । यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर हुने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन

रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले आज आयोजनाको मुख्य इन्टेक क्षेत्रको स्थलगत निरीक्षण पनि गरेका छन्।

निरीक्षणको क्रममा आयोजनाको प्रगति, सिँचाइ सुविधा विस्तार र जल व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो।

निरीक्षणमा प्रधानमन्त्रीसँगै सम्बद्ध मन्त्रालयका अधिकारी, इन्जिनियर तथा सुरक्षाकर्मीहरूको टोली सहभागी थियो। आयोजनाले सुदूरपश्चिमका किसानहरूको कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

आयोजनाका काम

आयोजनाबाट कर्णाली नदीमा इन्टेक, बालुवा छान्ने सिडलिङ बेसिन, ७४.३७ किलोमिटर नहर, १०८ वटा पानी बाँडफाँट गर्ने रेगुलेटर, ७५ वटा पानी वितरण गर्ने संरचना, ३८१ वटा सानाठुला पुल, २४५ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति, कर्णाली नदीमा ८० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको छ हजार ४५१ हेक्टर जमिन नदी कटानबाट सुरक्षित गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर नवीन पौड्यालले जानकारी दिए। यस्तै आयोजनाले कृषि कार्यक्रमतर्फ कृषकको क्षमता विकास,कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र पशुपालनमा ठुलो परिवर्तन गरेको छ।

विद्युत् उत्पादन

लम्कीचुहा नगरपालिका–३, चिसापानी कर्णालीमा बनेको इन्टेकबाट करिब १० किलोमिटर टाढा जानकी गाउँपालिका–९, कटाँसेमा विद्युत् उत्पादन गृह बनेको छ । नहरमा आएको एक सय क्युमेक्स पानीमध्ये २० क्युमेक्स पानी बालुवा छानेर कर्णालीमै फर्किन्छ भने ८० क्युमेक्स पानी सात मिटर अग्लो हेड (उचाइ) बाट खसालेर प्रतिटर्बाइन एक हजार ६३६ किलोवाट क्षमताका तीन वटा टर्बाइनको सहायताले ४.७१ मेगावाट विद्युत् उत्पादन भएको छ। यहाँ उत्पादित विद्युत् ३३ केभी लाइनमार्फत साढे छ किलोमिटर टाढाको लम्की स्टेसनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

अझै समस्या बाँकी

नदी नियन्त्रणका लागि कर्णाली किनारमा तारजालीमा ढुङ्गा भरेर बनाएको तटबन्ध भत्कने क्रममा छ। रानी नहरको ५० प्रतिशतसहित २५ प्रतिशत काम बाँकी छ। आयोजना निर्देशक पे्रमराज घिमिरेले बाँकी काम नेपाल सरकारको लगानीमा सम्पन्न हुने बताए।

 

 

कमेन्ट लोड गर्नुस