सुदूर नेपाललाई विश्वसँग जोड्दै

राना समुदायको तीज: संस्कृति र सद्भावको संगम 

२०८२ साउन ११, ०६:०४ खबर संवाददाता

जयन्त सिंह भाट, धनगढीः कैलालीका राना समुदायमा तीजको रौनकता छाएको छ।

मायलाले शिर ढाकेर रङ्गीचङ्गी चोली अनि ब्लाउजको पहिरनमा, ठडिया, कनफूल, चुरा,पाउजु र नथ गहनाहरूले ढपक्क कलिला कन्यादेखि नारी र वयोवृद्धाहरू उल्लासमय छन्। 
सावनको डोला (पिङ) बनाउदै सुरिलो सामूहिक स्वरमा गाइरहेछन् महिलाहरू, 

कौन वनकी है, लालासी डाँडी
कौने वनकी है चारो खम्हा ? 
कजरी है वनकी लालासी डाँडी
वृन्दा हो वन चारो खम्हा

अर्थात्
(यो रातो र आकर्षक डाँडी (डालो) कुन वनको हो?
“र चारवटा खम्बा (स्तम्भहरू) कुन वनका हुन?, 
“यो रातो र मनमोहक डाँडी ‘कजरी’ वनको हो,
“र ती चारवटा खम्बा ‘वृन्दा’ वनका हुन्।)


चौरमा तीजको तयारी हुँदै थियो, रङ्गीचङ्गी दृश्य निकै सुन्दर र मनमोहक थियो।

राना समुदायले  श्रावण शुक्ल तृतीयाको दिन तीज पर्व मनाउछन्। राना बसोबास गर्ने गाउँमा तीज पर्वमा सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ। यसलाई उनिहरूले ‘सावनको डोला’ भन्ने गर्दछन्। यसै अवसरमा राना समुदायका महिलाहरू व्रत बस्ने र घर तथा सार्वजनिक स्थानमा समूहमा पिङ हालेर खेल्ने र सावनको डोला मनाउने परम्परा छ। धनगढी‐११ स्थित घोडसुवाको चौरमा पनि तीजको तयारी गर्दै महिलाहरू रमाउदै थिए। 

परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन्। यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको उक्त समुदायका महिलाहरू बताउँछन्।

स्थानीय राममती रानाले तीजअघि नै राना समुदायमा सावनको डोलामा रमाउने पिङ खेल्दै नाचगान गर्ने बताइन्। “हाम्रो पुर्खादेखि नै दाजुभाइ, भतिजाहरूको  दीर्घ आयुको लागि व्रत बस्ने चलन छ” उनले भनिन्‚“अग्ला‑लामा  खम्बाहरूमा पिङ सजाएर डोला खेल्छौँ, झिँझिँ नाच खेल्छौँ, दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाएर रमाइलो गर्छौँ, विशेष गरी रोपाई र खेतबारीको काम भ्याईसके पछिको थकाइ मेटिन्छ।” 

अर्की स्थानीय ममता रानाका अनुसार तीजमा विवाहित र अविवाहित दिदीबहिनीले आफ्ना दाजुभाइ, भतिजाहरूको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गर्छन। विवाह भइसकेका दिदीबहिनी सम्भव भएसम्म माइतमै गएर दाजुभाइ, भतिजाका लागि व्रत बस्ने चलन छ। उनले भनिन्,“सम्भव नभएमा आफू भएकै ठाउँमा पनि व्रत बस्न सकिन्छ।” यो पर्वमा विवाहित दिदीबहिनीलाई माइत आउनका लागि पर्व आनुपूर्व नै माइतीपक्षले लिन जाने चलन छ। लिन नगएमा विवाहिताले दुःख व्यक्त गर्ने बताइन्छ। 

तीजको दिन व्रतालुले दिनभरि पुरी, सिमही, गुलगुला, पकौडा, कट्रालगायतका मीठा–मीठा परिकार पकाउने गरेका छन्। ती सबै परिकारसहित मुरिया (सावनको डोला बाँध्न प्रयोग भएको डोरी) र झुरकी (घाँसबाट बनाइएको गुडिया) व्रतालुले नदीमा सेलाउने चलन छ । चाँदीको पैसा हातमा लिएर नदीको बीच धारमा मुरिया र झुरकी सेलाउने गरिएको ममता बताउछिन् । 

“चलो जा री झुरकी, गुड्डागुड्डी हमर ददा, भैयनकी उमर बढा” (जा झुरकी गैजा, हाम्रो दाजुभाइको आयु बढाउनु) भन्दै सेलाउने गर्छौँ’, उनले भनिन्, “सेलाएको वस्तु जति टाढा जान्छ, त्यति नै हाम्रो दाजुभाइको आयु लामो हुने विश्वास गर्छौँ ।” सकेसम्म धेरै टाढा जाओस् भनेर नै नदीको बीच धारमा झुरकी, गुड्डागुड्डी सेलाउने गरेको उनले बताइन्।

त्यस क्रममा व्रतालु महिलाहरू सवनको डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुशको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय सुनिता रानाले बताइन। मुरिया र झुरकी दुवै नदीमा सेलाएर प्रसाद खाने चलन छ। झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको उनले उल्लेख गरिन। 

दिदीबहिनी दीर्घायुको कामना गर्दै व्रत बसेपछि दाजुभाइ पनि खुसी हुन्छन् र  आशीर्वाद सहित दक्षिणा (रुपैयाँ), चुरा, कपडालगायतका चिजहरू उपहार दिने गर्छन। यो समुदायको तीज पर्व दिदीबहिनीले विशुद्ध रूपमा आफ्ना दाजुभाइ, भतिजाको दीर्घायुका लागि व्रत बसेर मनाउने पर्व हो। व्रतालुले नदीमा पूजाको सामग्री सेलाइ फर्केपछि परिकारहरू खाने, खुसी साटासाट गर्ने चलन छ। यसैगरी, रमाउँदै ‘सावनको डोला’ (पिङ) खेल्ने चलन छ । गीत गाउँदै व्रतालु महिला लामा चार खम्बामा डोरीले काठको ‘फ्ल्याक’ बाँधेर बनाइएको डोलामा परम्परागत पहिरन लगाएर पिङ खेल्ने चलन छ। डोलामा रमाउदै महिलाहरू मौलिक गीत र माङ्गलहरूको सुरिलो भाका हाल्छन् र रमाउछन्। 

“पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ” राममति रानाले भनिन्, “साँझपख नदी किनारमा पूजाअर्चना गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ।” राना थारू समुदायको तिज अरू समुदायको तिजभन्दा फरक छ। महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन। तीजमा दर होइन  साँझ पूजाआजा गरेर एकैचोटि प्रसाद र भात खाने गर्छन। तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ ।

तीज पर्वले दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई प्रगाढ बनाउँछ नै । यसका अतिरिक्त यो पर्वले समुदायमा मेलमिलाप, भाइचाराको सम्बन्ध पनि बढाउने गरेको धनगढी उप‐महानगरपालिकाकी उप‐मेयर कन्दकला रानाले बताइन्।  “कैलाली र कञ्चनपुरका राना समुदायले निराहार व्रत बसेर धुमधामसँग तीज मनाउछन्, होली जस्तै तिज पनि यो समुदायको ठुलो पर्व हो।” उनले भनिन्, “सबै परम्परा र संस्कृति हाम्रो साझा सवाल हो । यसले आपसी सद्‍भाव, मेलमिलाप  र  एकताको सन्देश दिन्छ।”  

तीजमा यस समुदायका महिलाहरू मनको वेदना गाउँदै, गीतको माध्यमबाट आफन्त र इष्टमित्रहरूलाई सम्झन्छन । तीज केवल रमाइलो मात्र नभएर सांस्कृतिक एकताको पर्व पनि भएको उप‐मेयर राना बताउछिन्।   

“दादा भैयनकी लम्बि आयुके ताहीन प्रार्थना करत है और प्रसाद बनात है (दाइभाइहरूको लामो आयुका निम्ति प्रार्थना गर्छौँ र प्रसाद बनाउछौँ)” उनले भनिन्,“हाम्रो मात्र हैन सबै समुदायका महिला दिदीबहिनीहरूले तीज मार्फत एकरूपता कायम गरेका छन्।” सांस्कृतिक पहिचान र पहिरनलाई आर्थिक समृद्धिसँग जोड्ने प्रयास गरिरहेको उनको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस