जगन्नाथ पुरीमा सामूहिक श्रीमद्भागवत महायज्ञ सुरु

ओडिसा, भारत: भारतको ओडिसा राज्यस्थित प्रसिद्ध तीर्थस्थल जगन्नाथ पुरी धाममा सामूहिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।
शुक्रवार सुरु भएको महायज्ञमा नेपालका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ।
धनगढीको श्री लक्ष्मीनारायण मन्दिरका स्वामी श्री १००८ देवराज आचार्यको अगुवाइमा सुरु भएको महायज्ञमा नेपालका विभिन्न स्थानसहित भारतको आसामबाट भक्तजनको उपस्थिति रहेको छ।

हिन्दु धर्मको मुख्य चार धाम मध्ये भारतको पूर्वमास्थित जगन्नाथ पुरीमा पहिलो पटक सामूहिक श्रीमद्भागवत महायज्ञ आयोजना भएको लक्ष्मीनारायण मन्दिर धनगढीका प्रबन्धक पण्डित हरिप्रसन्न न्यौपानेले बताए।

५५ जना पण्डितले यज्ञ गराउने


लक्ष्मीनारायण मन्दिरका महन्त श्री १००८ स्वामी देवराज आचार्यको सङ्कल्पमा नेपाल तथा भारतका विभिन्न तीर्थस्थलमा महायज्ञ लगाउने गरिएको छ। भक्तजनबाट न्यूनतम शुल्क लिएर सामूहिक महायज्ञ लगाउने गरिएको मन्दिरका उत्तराधिकारी स्वामी जगन्नाथ आचार्यले बताए। "स्वामी जीले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलमा महायज्ञ लगाउने गरिएको छ," उनले भने, "पवित्र तीर्थस्थलको भ्रमण गराउने तथा पितृहरूको उद्धार र नेपालको धर्म, संस्कृति तथा परम्पराको समेत प्रचारप्रसार गर्ने उद्देश्यले हरेक वर्ष नेपाल तथा भारतका तीर्थस्थलमा महायज्ञ लगाउने गरिएको छ।"
जगन्नाथ पुरीमा भइरहेको महायज्ञमा ५५ जना नेपाली पण्डितहरूले अनुष्ठान गराउनेछन्। महायज्ञमा सहभागी हुन धनगढी, महेन्द्रनगर, नेपालगन्ज, सुर्खेत, पोखरा, काठमाडौँ, चितवन, जनकपुरधाम, इटहरी र झापा तथा भारतको आसामबाट ५२० जना भक्तजनको सहभागिता रहेको छ। शुक्रवार पुरीस्थित समुद्रबाट कलश यात्रा गरेर वैदिक विधिअनुसार अनुष्ठान सुरु भएको हो।