सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरबाट पछिल्ला तीन वर्षमा दृष्टि फाउन्डेसनलाइ १५ लाख भुक्तानी

२०८२ असार २९, ०८:०५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उप–महानगरपालिकाले दृष्टि फाउन्डेसनलाई पछिल्ला तीन आर्थिक वर्षमा १५ लाख रुपैयाँ भुक्तानी दिएको छ।

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा रहेको दृष्टि फाउन्डेसलाई लगातार तीन वर्षदेखि आर्थिक सहयोग गर्दै आएको तथ्य उपमहानगरपालिकाले सार्वजनिक गरेको हो।

तर, पनि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट र कैलालीको गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टले भने उपमहानगरले कुनै सहयोग नगरेको आरोप लगाएका छन्। गत असार २२ गते कैलालीको अत्तरियामा दृष्टि फाउन्डेसनले सञ्चालन गरेको वृद्धाश्रम उद्घाटन गर्दै गोदावरीका नगर प्रमुख भट्टले धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले फाउन्डेसनलाई सहयोग नगरेको जिकिर गरेका थिए। उनले भने, “यो काम सरकारको दायित्व भित्र पर्छ। सरकारले नसकेको काम उहाँले जमर्काे गर्नु भएको छ। हिजोको दिनमा यो, सबै कुरा बुझेर निवर्तमान प्रमुख ज्यू (नृपबहादुर वड)ले यो संस्थालाई अभिभावकको रूपमा अगाडी बढाउनु भयो। २०७९ पछि धनगढीको मेयर सापले सहयोग नै गरेनन दाइ कलपना बैनीले भनेपछि मलाई पीडा भयो। गर्नु पर्ने त यो सरकारले होनी, स्थानीय सरकारले त उहाँलाई ठुलो अनुभूति दिलाउनुपर्ने नी। हामी निर्वाचित भएपछि चार/पाँच, चार/पाँच लाख रुपैयाँ प्रत्येक वर्ष दिने गरेका छौ।”

धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा गोपाल हमाल आएपछि सहयोग नगरेका भन्दै दृष्टि फाउन्डेसकी सञ्चालीका कल्पना भट्टले गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टसँग झुट बोलेकी हुन्। भट्टले “धनगढी नगरले नदिएपछि कल्पना भट्टको अनुरोधमा मैले नै सहयोगको पहल गरेको हुँ,” भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले पूर्व नगर प्रमुख नृपबहादुर वडले दृष्टि फाउन्डेसन स्थापनामा महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गरेका थिए।

तर, धनगढी उपमहानगरपालिकाको आर्थिक अभिलेखमा भने उनीहरूको अभिव्यक्तिसँग मेल नखाने तथ्य फेला परेको छ। अभिलेखअनुसार, धनगढी उपमहानगरपालिकाले २०७९ सालदेखि निरन्तर तीन आर्थिक वर्षसम्म दृष्टि फाउन्डेसनलाई रकम भुक्तानी दिएकाे छ।

पहिलो वर्षको सहयोग (२०७९/८०)

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम २०७९ असार २५ गते फाउन्डेसनलाई पाँच लाख रुपैयाँ फाउन्डेसनको खातामा जम्मा भएको अभिलेखमा उल्लेख छ।

धनगढीका वर्तमान नगर प्रमुख गोपाल हमाल २०७९ बैशाखमा निर्वाचित भएका हुन्। उनी निर्वाचित भएलगत्तै यो सहयोग गरिएको अभिलेखमा देखिएको हो।

दोस्रो वर्षको सहयोग (२०८०/८१)

आर्थिक वर्ष २०८०/८१ मा पनि उपमहानगरपालिकाले ‘सडक आश्रित मानव/बाल लक्षित विकास कार्यक्रम’ अन्तर्गत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यो रकम २०८१ साल जेठ २ गते कर कट्टी गरेर फाउन्डेसनको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ। खर्च शीर्षक ३११२३ बाट यो रकम सहयोग गरिएको हो।

तेस्रो वर्षको सहयोग (२०८१/८२)

चालु आर्थिक वर्ष २०८१/८२ मा पनि उपमहानगरपालिकाले दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। यो रकम २०८१ साल जेठ ५ गते भुक्तानी गरिएको हो।

सार्वजनिक अभिव्यक्तिमा भ्रम ?

कल्पना भट्ट र वीरेन्द्र भट्टले २०७९ पछि फाउन्डेसनले कुनै सहयोग नपाएको दाबी गर्दै आइरहे पनि उपमहानगरपालिकाको भुक्तानी विवरणले भने यो दाबी गलत भएको पुष्टि गरेको छ।

तीन आर्थिक वर्षसम्म लगातार फाउन्डेसनको खातामा रकम पठाएको देखिएको हो। धनगढी उपमहानगरका प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको कार्यपालिकाले ‘सडक आश्रित मानव सहयोग कार्यक्रम’ मार्फत फाउन्डेसनलाई सहयोग दिँदै आएको अभिलेखमा स्पष्ट छ।

 

 

 

 

 

कमेन्ट लोड गर्नुस