सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीको शुद्ध पानी लम्की ल्याउन २९ करोड ४८ लाखको ठेक्का

२०८२ असार २९, ०६:१५ खबर संवाददाता

धनगढीः कैलालीमा पर्ने कर्णाली नदीको शुद्ध पानी लम्कीसम्म ल्याउन २९ करोड ४८ लाखको ठेक्का सम्झौता गरिएको छ।

लम्की–चुहा नगरपालिकाका नागरिकलाई शुद्ध खाने पानी वितरणका लागि २०८२ असार २३ गते २९ करोड ४८ लाख ३२ हजार चार सय ९९ रुपैयाँमा ठेक्का सम्झौता भएको हो।

साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लम्कीको महत्वाकांक्षी योजनाका रूपमा रहेको ‘कर्णालीको पानी लम्कीवासीलाई’ कार्यक्रमको दोस्रो चरणको कामको आइतवार शिलान्यास समेत गरिएको छ। योजनाकोे नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिलान्यास गरेका हुन्।

दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुई वटा ओभर हेड ट्याङ्की, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुनेछ। यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई पुर्‍याउने योजनाले पूर्णता पाउने जनाइएको छ। यस खानेपानी योजनाले पूर्णता पाएसँगै १५ हजार घरधुरीमा २४ सै घण्टा कर्णालीको पानी घरको धारामा पुग्ने छ।

२०७६/०७७ सालमा लम्कीचुहा नगरपालिका अन्तर्गतको वडा नं. १,२,३ को बल्चौर, व्यवस्थितनगर र वडा नं. ५ को राजीपुर क्षेत्रका करिब १५ हजार घरधुरीमा कर्णाली पानी पु¥याउने उदेश्यका साथ डीपीआर गरिएको थियो। तत्कालिन समयमा ९० करोड लागत अनुमान गरिएको कर्णालीको पानी लम्कीवासीलाई खानेपानी योजनालाई तीन चरणमा विभाजन गरि निर्माण कार्यको सुरुवात २०८० फागुनबाट गरिएको हो। सोही अनुरूप दोस्रो चरणको काम सुरु भएको छ।

मन्त्री यादवले राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन सहलगानीमा निर्माण हुने खानेपानी आयोजनाले पूर्णता पाएसँगै उपभोक्ताको घरघरमा शुद्ध खानेपानी पुग्ने विश्वास व्यक्त गरेका छन। उनले भने, “कुनै पनि समुदाय विकासको मुलधारबाट टाढा रहन सक्दैन, शुद्ध खानेपानी अपरिहार्य हो, यो योजनाले खानेपानीको स्थायी समाधान गर्ने छ।”

मन्त्री यादवले वर्षात र ढल व्यवस्थापनलाई दृष्टिगत गरेर योजना सम्पन्न गर्न सुझाव दिए। उनले घोषणाभन्दा कार्यान्वयनमा जोड दिन सुझाउनुभयो। लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले खानेपानी योजनाबाट जनताले प्रत्यक्ष लाभ लिने बताए। पहिलो चरण अन्तर्गत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्याङ्की र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख जगन्नाथ ढकालले बताए।

संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले लम्कीवासीलाई २४ घण्टा कर्णालीको पानी उपलब्ध गराउने उद्देश्यले खानेपानी योजनाको काम भइरहेको बताएका छन। अध्यक्ष चलाउनेले भने “ बोरिङ गरी जमिन मुनिबाट निकालेको खानेपानी प्रणाली दीर्घकालीन नदेखिएपछि धेरै अध्ययन र अनुसन्धान गरेर कर्णाली नदीलाई प्रमुख स्रोत बनाई यो योजना अघि बढाएका हौँ। तीन चरणमा योजना निर्माण हुँदैछ। पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ र अब दोस्रो चरणको काम पनि सुरु हुन्छ।”

कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत स्वयं खानेपानी संस्था र बाँकी रहेको ५ प्रतिशत स्थानीय सरकारले ब्यहोर्ने गरी सह लगानीमा योजनाको निर्माण भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस