सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका ५० किसानको ३६ लाख सुरो नेपालले नदिए वडाध्यक्षले दिने

२०८२ असार २९, १०:३५ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका ५० किसानको ३६ लाख १७ हजार रुपैयाँ वडाध्यक्षले तिर्ने भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–६ का वडाध्यक्ष जग्गुराम चौधरीले सुरो नेपालले ५० किसानको ३६ लाख १७ हजार एक सय २५ रुपैयाँ फिर्ता नगरे आफूले तिर्ने कागज बनाएका हुन्।

इलाका प्रहरी कार्यालय, मालाखेतीमा पावर टिलर अनुदानमा पाउने आशामा रहेका ५० किसानले ठगीमा परेको भन्दै उजुरी दिएका थिए। एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले असार २४ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा वडाध्यक्षकी बुहारी प्रीयंका चौधरीको विरुद्धमा जाहेरी दिएका हुन्। सुरो नेपालको नाममा गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष जग्गुरामकी बुहारी प्रीयंकाले किसानहरूबाट सङ्कलन गरेको ३६ लाख १७ हजार एक २५ रुपैयाँ वडाध्यक्षले असोज मसान्तसम्म फिर्ता गर्ने भन्दै कागज गराएपछि किसानहरूले उजुरी फिर्ता लिएका छन्। उनीहरूसँग असार २६ गते नै वडाध्यक्षले सुरो नेपालले रकम फिर्ता नदिए आफ्नो जायजेथाबाट रकम फिर्ता गर्ने सम्झौता गरेका हुन।

वडाध्यक्षले गरेको उक्त सम्झौतामा किसानका तर्फबाट रामबहादुर चौधरीले हस्ताक्षर गरेका छन् भने ५० जना किसानको रकमसहित नाम उल्लेख गरिएको छ। सम्झौतामा अनुदानमा दिने भनी रकम उठाई भाकामा कृषि उपकरण नदिइएकाले असोज मसान्तसम्ममा पनि सुरो नेपाल संस्थाले रकम उपलब्ध नगराए वडाध्यक्षले घर घरान वा जायजेथाबाट कानुन बमोजिम असुर उपर गराउने उल्लेख छ। सम्झौतामा असार २४ गते वडाध्यक्षकी बुहारी प्रीयंका चौधरीका नाममा ५० जना किसानले इलाका प्रहरी कार्यालय मालाखेतीमा दिएको उजुरी फिर्ता गर्ने उल्लेख छ।

असार २४ गते इलाका प्रहरी कार्यालयमा आएका किसानले आफूबाट रकम सङ्कलन गर्ने वडाध्यक्षकी बुहारी सम्पर्कमा नआएको भन्दै उजुरी दिएका थिए। २०८१ साउनमा प्रीयंकाले २ महिना भित्रमा किसानहरूले माग गरेका कृषि उपकरण ७५ प्रतिशत अनुदानमा दिने भन्दै किसानहरूबाट अग्रिम रकम सङ्कलन गरेकी थिइन। प्रीयंका सँगै गोदावरीमै सोनम चौधरीले पनि ४४ जना किसानबाट रकम सङ्कलन गरेकी थिइन। उनी भने असार २४ गते इलाका प्रहरी कार्यालयमा उपस्थित भएर किसानको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि किसानहरू उजुरी नै नदिई फिर्ता भएका थिए।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले प्रीयंकाका विरुद्ध परेको उजुरी फिर्ता गरिदिन किसानहरूबाट निवेदन आएको बताए। उनले प्रीयंकाका ससुरा वडाध्यक्ष जग्गुराम चौधरीले रकम फिर्ता गर्ने सहमति गरेपछि उजुरी फिर्ता गरिएको बताए। उनले सोनमलाई रकम बुझाएका किसानले उजुरी नै नदिएको र, उनीहरूले पनि सहमति गरेको बताए।

सुरो नेपालका नाममा कैलालीको गोदावरी नगरपालिकासहित जिल्ला भरीबाट रकम सङ्कलन गरिएको छ। कञ्चनपुरका किसानहरू पनि ठगिएका छन्। सुरो नेपालबाट ठगिएको भन्दै कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएपछि सुरो नेपालकी अध्यक्ष सुशीला खड्का सहित सुरो नेपालमा आबद्ध प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते नै पक्राउ गरिसकेको छ। उनीहरू जिल्ला अदालत कञ्चनपुरको फैसला अनुसार पुर्पक्षका लागि थुनामा छन्।

सुरो नेपालकी अध्यक्ष पक्राउ परेपछि कैलाली र कञ्चनपुर प्रहरीमा ठुलो सङ्ख्यामा उजुरी दर्ता भएका छन्। तर, प्रहरीले हालसम्म उजुरी आउने क्रम जारी रहेकाले रकम र ठगिएका किसानको सङ्ख्या सार्वजनिक गरेको छैन्।

 

कमेन्ट लोड गर्नुस