सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले सताउन थालेपछि गौरीफन्टामै गाडी छोडेर धनगढी आउँछन् भारतीय पर्यटक

धनगढी आउँदा गौरीफन्टामा पार्कीङ गरिएका गाडीहरु
धनगढी आउँदा गौरीफन्टामा पार्कीङ गरिएका गाडीहरु
२०७६ साउन ३, ०६:५१ नवराज पनेरु

केही हप्ता अगाडी लाल अटो पलियाका सञ्चालक परिवार सहित आफ्नै गाडी ल्याएर धनगढी आए। उनी सवार भारतीय नम्वरको गाडी धनगढीमा प्रहरीले देख्ने वित्तिकै सिटी बजाउन सुरु भएछ। गाडी र चालकका कागजपत्र प्रहरीले मागेपछि उनले सबै कागजपत्र पनि देखाए। तर कतिपय कागजपत्रको फोटोकपी मात्रै राखेको भन्दै उनको गाडी प्रहरीले बरामद ग¥यो। झण्डै एक सातापछि विभिन्न प्रक्रिया पुगाएर मात्रै उनको गाडी छोडियो। त्रिनगर र गड्डाचौकी नाका भएर आउने भारतीय पर्यटकलाई केही समय सताउन छोडेको ट्राफिक र जनपथ प्रहरीले फेरी आफ्नो पुरानै धन्दा सुरु गरेपछि अहिले धेरै भारतीय पर्यटकहरु यसै गरि समस्यामा परिरहेका छन्। धनगढीबाट भारतीय सञ्चार माध्यममा पत्रकारीता गर्दै आएका पत्रकार राजिव गुप्ताले ट्राफिक र जनपथ प्रहरी सहित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पनि गाडी सहित आउने पर्यटकहरुलाई अनावश्यक सताउने गरेको बताए। ‘प्रहरीले जथाभावी गाडी रोक्ने, रकम असुली गर्ने, सामान्य दुर्घटना भएपनि लामो समय सम्म हिरासतमा राख्ने घटना बढ्दै गएका छन्,’ उनले भने, ‘सोही कारणले अहिले धेरै भारतीय पर्यटकहरु सीमा क्षेत्रमै गाडी छोडेर आउने गरेका छन्।’

अहिले धनगढी बजारमा भारतीय गाडी देख्यो की सिटि फुकेर तर्साउने र अनावश्यक दु:ख दिने क्रम बढेको नेपाल–भारत मैत्री संघका सदस्य राजीव गुप्ताको पनि दावि छ। विभिन्न बहना बनाएर सताउन थालेपछि भारतीय पर्यटकहरु गौरीफन्टामा गाडी रोकेर रिक्सा चढ्दै धनगढी आउने क्रम बढेको उनले बताए। धनगढीको मुख्य बजारमा नै प्रहरीले भारतीय गाडी देख्ने वित्तिकै फरक व्यवहार गर्न थालेपछि उनीहरुलाई गाडीमै सात पहाडी जिल्ला पुग्न त झनै कठिन हुने गरेको उनको अनुभव छ। नेपाल–भारत पत्रकार संघका अध्यक्ष दिलवहादुर छत्यालले पनि पर्यटनको बाधक प्रहरी बनिरहेको बताए। ‘भारतमा निश्चित क्षेत्रमा मात्रै चेकजाँच हुने गरेको छ, जस्ले गर्दा नेपाली नम्वरकै गाडीमा भारत गएपनि ठुलै समस्या हुँदैन्।, उनले भने, ‘कैलाली-कञ्चनपुर सहित सात पहाडी जिल्लामा जुन ठाउँमा प्रहरीले भेटायो सोही ठाउँमा चेकजाँच गरेर अनावश्यक दु:ख दिने गरेका छन्।’ 

सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सबैभन्दा बढि आउने भारतीय पर्यटकसंगै व्यवहार सुधार नभए लक्ष्य पुरा हुनेमा समेत उनले आशंका व्यक्त गरे। गाडी लिएर आउने भारतीय पर्यटकहरुसंग प्रहरीले गर्ने फरक व्यवहारका कारण यस क्षेत्रको व्यापार व्यवसायमा ठुलो असर परिरहेको गुनासो स्थानीय व्यवसायीको पनि छ। धनगढी बजारमा पार्किङ स्थलको अभाव भएका कारण गाडीहरु रोक्न र पार्किङ गर्न समस्या छ। तर सोही बहानामा भारतीय पर्यटकहरुलाई दुःख दिनु जायज नहुने धेरैको तर्क छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केदार रज्यौलेले भने मातहतका निकायलाई भारतीय पर्यटकलाई कुनै पनि किसिमको अवरोध नगर्न निर्देशन दिएको बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस