सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिसी इस्ट जोन कपको उपाधि नेपालला

२०८२ असार २१, ०२:३६

काठमाडौँ:  नेपालले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो।

सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए । साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए।

सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए । साथै भेदान्स गुप्ता र आकाश तेजाले एक/एक विकेट लिए।

सामान्य लक्ष्य पछ्याएको नेपालले १३ रन बनाउँदा पहिलो विकेट गुमायो  त्यसपछि शिवान्स बजगाईँले एक छक्का र दुई चौकाको प्रहार गर्दै आक्रामक ब्याटिङ गर्दै पारीलाई अगाडि बढाए। नेपालले ४० रन बनाउँदा लगातार दुई विकेट गुमाएपछि दबाबमा पर्‍यो । नेपालले ५८ रन छँदा थप दुई विकेट गुमायो।

छैटौ विकेटका लागि नेपालले जोय थापा र सुभास खनालले महत्वपूर्ण ३३ रनको साझेदारी गरे। नेपालले ९१ रन छँदा छैटौ र ९२ रन छँदा सातौ र आठौ विकेट गुमाएको थियो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो। उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए। त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन/तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए। त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए।

कमेन्ट लोड गर्नुस