सुदूरपश्चिम सरकारसँग छैन विपत् प्रतिकार्य योजना

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विपद् प्रतिकार्य योजना तयार नपारेको खुलेको छ।
प्रदेशमा मनसुनजन्य विपत् सुरु भए पनि प्रदेश विपत् प्रतिकार्य योजना भने अझै बन्न सकेको छैन।
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपत् प्रतिकार्य योजना बनाउन ढिलाइ गरेको हो। सुदूरपश्चिममा मनसुनजन्य विपत् सुरु भइसकेको छ। सोमवार मात्रै भीषण वर्षा हुँदा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको विभिन्न पालिका जलमग्न भएका थिए।
मनसुनजन्य विपत्बाट जनताको जिउधनको रक्षा र आइपर्ने समस्या समाधानका लागि हरेक वर्ष प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक गर्नु पर्दछ । यस वर्षका लागि विपत् प्रतिकार्य योजनाको सम्पूर्ण तयारीको काम पूरा भए पनि मन्त्रालयमा सचिव नहुँदा स्वीकृत गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए। मन्त्रालयले विपत् प्रतिकार्य योजनाको सम्पूर्ण काम पूरा गरिसकेको छ। तर, मन्त्रालयका सचिव बिरामी भई बिदामा रहेकाले कार्यकारी समितिमा पेस हुन सकेको छैन।
तराई, पहाडी र हिमाली भूबनोट रहेको सुदूरपश्चिमले बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको छ। यस प्रदेशको पहाडी क्षेत्रमा पहिरो, बाढी र तराईमा मुख्य गरी बाढी, डुबानबाट अत्यधिक मान्छे प्रभावित हुँदै आएका छन्। सरदरभन्दा बढी वर्षाको सम्भावनासमेत रहेको सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ। यस वर्ष मनसुनजन्य विपत्बाट ५२ हजार ११२ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको विष्टले बताए।



