सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ओठ तथा तालु फाटेका बालबालिकालाई बोलीको तालिम दिइयो

२०८२ असार १९, ०८:५१ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएको मानिसहरूको लागि बोलीको तालिम शिविर सम्पन्न भएको छ। एक हप्तासम्म चलेको बोलीको तालिम शिविरमा दाँत, नाक(कान(घाँटी, शल्यक्रियापछिको अवस्थाको पनि जाँच भएको थियो। 

ओठ तथा तालुको शल्यक्रिया गरेपछि आवश्यकता अनुसार बोलीको तालिम, दाँतको उपचार, गिजाको शल्यक्रिया, कानको उपचार, मनोसामाजिक परामर्श लगायत अन्य सेवाहरु दिनु पर्ने फेक्ट (नेपाल, रिसर्च परियोजना नेपाल)का संयोजक कैलाश खाकी श्रेष्ठले बताए।

बोलीको तालिम शिविरबाट ३१ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्। शिविरमा ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। बोलीको समस्या भोगिरहेका बिरामीहरूका लागि डाक्टर भवानी प्रधानले विशेष तालिम र थेरापी सत्रहरू सञ्चालन गर्नुभयो। उनले अस्पष्ट बोली र उच्चारण सम्बन्धी कठिनाइ भएका व्यक्तिहरूलाई आत्मविश्वासका साथ बोल्न मद्दत गर्ने प्रक्रियाहरू सिकाएका थिए।

संयोजक श्रेष्ठका अनुसार, शल्यक्रियापछिको अवस्था र आवश्यकताको बारेमा प्राध्यापक डाक्टर शंकरमान राईले जाँच गरेका थिए। दाँत सम्बन्धी समस्याको लागि डाक्टर रितराज खड्काले जाँच तथा उपचार सेवा दिएका थिए। यसैगरी, डाक्टर डीआर कँडेलले नाक, कान र घाँटी सम्बन्धी परीक्षण र परामर्श गरेका थिए। 

यस शिविरलाई सफल बनाउन चिकित्सकहरूको टोलीका साथै स्वास्थ्यकर्मीहरू लीला राना, नीलम श्रेष्ठ, नैना महतो, पुष्पा गाहा, हेमा चौधरी, आशा शर्मा लगायतले बिरामीको हेरचाह र शिविर व्यवस्थापनमा अहम् भूमिका निभाएका थिए। शिविरमा सुदूरपश्चिम, लुम्बिनी र कर्णालीबाट सहभागी भएका सेवाग्राहीलाई विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याइएको थियो। आगामी दिनमा समुदाय स्तरमा नै कार्यक्रमहरूलाई निरन्तरता दिइने संयोजक श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस