सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्र भट्टलाई प्रादेशिक प्रतिभा पुरस्कार

२०८२ असार १९, ०४:१५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य र शिक्षण क्षेत्रमा क्रियाशील साहित्यकार नरेन्द्र भट्टलाई भाषा–साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

बैतडीको पाटन नगरपालिका–४, भट्टगाउँ निवासी भट्ट हाल ऐश्वर्य विद्या निकेतनका नेपाली विषयका शिक्षक हुन्। भट्टको २०५६ मा प्रकाशित ‘शहीद पुत्र’ खण्डकाव्य चर्चित कृति हो। उनका थुप्रै कविता, गजल तथा समसामयिक लेखहरू राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन्। पछिल्ला वर्षहरूमा उनी समालोचना तथा अनुसन्धानमूलक लेखनमा समेत सक्रिय छन्।

शिक्षा र साहित्यमा सँगसँगै यात्रा

भट्टले नेपाली विषयमा एम.ए. तथा बी.एड सम्मको अध्ययन गरेका छन्। हाल उनी पीएचडी स्कलरको रूपमा समेत आबद्ध छन्। शिक्षण पेशासँगै साहित्य सेवा गरेका भट्टका कृतिहरूले साहित्यिक वृत्तमा पृथक् पहिचान बनाएका छन्।

साहित्यिक संस्थामा क्रियाशील

उनले सुप साहित्य समाज धनगढीको पूर्व सचिव, विद्यार्थी साहित्य प्रतिष्ठान (कैलाली बहुमुखी क्याम्पस) को संस्थापक सह–सचिव लगायत विभिन्न साहित्यिक संस्थाहरूमा सक्रिय भूमिका निर्वाह गरेक छन्। हाल उनी नेपाली लेखक संघ, सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारीमा छन्।

प्रतिभाको सम्मान

भाषा र साहित्यको सेवा तथा सिर्जनात्मक योगदानको उच्च मूल्याङ्कन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई यो वर्षको प्रादेशिक प्रतिभा पुरस्कार (भाषा–साहित्य विधा) प्रदान गरेको हो।

स्थानीय स्तरमा उनी एक सर्जक, शिक्षक र अभियन्ताका रूपमा सम्मानित व्यक्तित्व मानिन्छन्।

 

कमेन्ट लोड गर्नुस