सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा होटल व्यवसायी र पर्यटकलाई त्रसित नबनाउन प्रहरीलाई आग्रह

२०७६ साउन ३, ०६:५५ नवराज पनेरु

कैलालीमा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भुमिका खेल्दै आएका होटल व्यवसायी र भारतीय पर्यटकहरुलाई विभिन्न बाहनामा त्रसित नबनाउन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ। कैलाली उद्योग वाािणज्य संघ र होटल व्यवसायी संघ कैलालीले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन्। पछिल्लो समय होटलमा अनावश्यक छापा हान्ने, भारतीय पर्यटकहरुलाई पक्राउ गर्दै मुद्धा चलाउने, भारतीय पर्यटकलाई अनावश्यक दुख दिने कार्य भईरहेको भन्दै ध्यानाकर्षण समेत गरिएको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमद्वारा जारी विज्ञप्तीमा प्रहरी प्रशासनले होटल व्यवसायी र पर्यटकहरुमाथि गर्दै आएको व्यवहारले नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य पुरा हुन नसक्ने उल्लेख गरिएको छ।

यस्तै प्रहरीले आफ्नो सजिलोका लागि राती व्यापार व्यवसाय सञ्चालन समेत गर्न नदिएको भन्दै विज्ञप्तीमा आपत्ति जनाईएको छ। सुदूरपश्चिमका ठूला पर्यटकीय गन्तव्यहरु खप्तड, रामारोशन लगायतका क्षेत्रमा होटल नभएकै कारण पर्यटन प्रवर्द्धन नभएको र होटल भएको क्षेत्रमा पनि पर्यटनका लागि प्रहरी बाधक बनिरहेको भन्दै विज्ञप्तीमा सहज रुपमा व्यापार गर्ने र पर्यटकहरुलाई आवतजावत गर्ने वातावरण बनाउन समेत माग गरिएको छ। ‘नीजि क्षेत्र समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने अभियानका साथ अगाडी बढेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो अभियानलाई प्रहरी प्रशासनबाट पनि साथ र सहयोग चाहिएको छ।’ 

सुदूरपश्चिममा सबैभन्दा बढि भारतबाटै पर्यटकहरु आईरहेकाले प्रहरी प्रशासनको गलत व्यवहारका कारण भारतीय पर्यटकहरु पनि नआउने वातावरण श्रृजना हुन सक्ने भएकाले समयमै सजक हुन सबै पक्षलाई आग्रह समेत गरिएको छ। पछिल्लो केही समय यता प्रहरीले होटलमा छापा हान्दै होटल व्यवसायी, युवा–युवतीलाई पक्राउ गर्दै मानव बेचविखनमा मुद्धा चलाउँदै आएको छ। यस्ले भारतीय पर्यटक र होटल व्यवसायीहरुमा त्रास फैलिएको छ। यस्तै प्रहरीले अनावश्यक दुख दिन थालेपछि अहिले आउने भारतीय पर्यटकहरुले गौरीफन्टामै गाडी छोडेर आउने गरेका छन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस