सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाेटीकाे बाेगटानमा नेपालमै पहिलाे पटक मल्लखम्ब खेल सुरु

२०८२ असार १८, ०९:२१ नारायण अवस्थी

धनगढी: डोटीको बोगटान फुडसिल गाउँपालिका नेपालमै सामुदायिक विद्यालयहरूमा मल्लखम्ब खेल सुरू गर्ने पहिलो स्थानीय तह बनेको छ।

बोगटान फुडसिल गाउँपालिकाले मातहतका सामुदायिक विद्यालयहरूमा मल्लखम्ब खेलको औपचारिक अभ्यास सुरु गरेको हो।

बोगटान फुड्सिल गाउँपालिकाले ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर यो वर्षदेखि मल्लखम्ब खेललाई संस्थागत रूपमा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए। "गाउँपालिकाभित्रका सामुदायिक माध्यमिक र आधारभूत विद्यालयका १३ जना शिक्षकलाई प्रशिक्षणमा सहभागी गराई योगसँगै मल्लखम्ब खेलको आधार तयार गरिएको छ," उनले भने, "मल्लखम्ब, जुन शारीरिक सन्तुलन, लचकता र शक्ति विकास गर्ने प्राचीन विधा हो र अब यो खेल डोटीको ग्रामीण विद्यालयहरूमा पनि सिकाउने भएका छौँ।"

 

शिक्षकहरूलाई तीन दिने प्रशिक्षण

 

गाउँपालिकाले असार १० देखि १२ गतेसम्म सामुदायिक विद्यालयका १३ जना शिक्षकहरूलाई प्रशिक्षण दिएर खेल अभ्यासको सुरूवात गरेको हो। गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षणमा  अन्तर्राष्ट्रिय योग गुरू आचार्य महेन्द्र वाशिष्ठ भट्टराई प्रमुख प्रशिक्षक थिए। बोगटान फुडसिलमा अन्तर्राष्ट्रिय मल्लखम्ब प्रशिक्षकहरूको उपस्थिति र प्रशिक्षणमा मल्लखम्बको औपचारिक प्रारम्भ भएको अध्यक्ष गडसिलाले बताए।

 सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्रशिक्षक इन्दिरा अर्याल, डाक्टर शान्ति दूत, विष्णुबहादुर खड्काले प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रीमती बिस्नादेवी बमको समेत उपस्थिती थियो।

 

नयाँ खेलको थालनी, नयाँ सम्भावनाहरू

मल्लखम्ब खेलको औपचारिक सुरुवातसँगै बोगटान फुड्सिल गाउँपालिकाले विद्यालयस्तरमै नयाँ खेल संस्कृतिको विकास तर्फ पाइला चालेको छ। प्रशिक्षित शिक्षकमार्फत मल्लखम्ब अभ्यास विद्यार्थीहरूमा विस्तार गरिने गाउँपालिकाले जनाएको छ।

 

बोगटान फुडसिलको उदाहरणीय कदम

डोटी जिल्लामै मल्लखम्ब खेल औपचारिक रूपमा सुरु गर्ने पहिलो स्थानीय तहका रूपमा बोगटान फुड्सिल गाउँपालिका अब उदाहरणीय पहलकर्ता बनेको छ।

गाउँस्तरमै यस्ता खेलहरूको प्रवर्द्धनले शारीरिक विकाससँगै अनुशासन, ध्यान र आत्मबलमा समेत सुधार हुने विश्वास लिइएको छ।

 

मल्लखम्ब: प्राचीन युद्धकलाबाट विश्वस्तरीय खेलसम्मको यात्रामा नेपाल पनि सहभागी

 

योग, कला र युद्धकलाको समिश्रण मानिने मल्लखम्ब हाल विश्वव्यापी रुपमा फैलिंदै गएको छ। यसको अभ्यासले शरीरमा शक्ति, लचकता र एकाग्रता बढाउने भएकाले अब यो केवल परम्परागत व्यायाम होइन, अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धाको रूप लिइसकेको छ। पछिल्लो समय नेपालका खेलाडीहरू समेत यसमा उल्लेखनीय उपस्थितिसहित विश्व रंगमञ्चमा चम्किन थालेका छन्।

 

प्राचीन अभ्यासको आधुनिक पुनर्जागरण

"मल्लखम्ब" भन्ने शब्द संस्कृतका ‘मल्ल’ (पहलवान) र ‘खम्ब’ (खम्बा) शब्दबाट बनेको हो। यो शारीरिक तथा मानसिक क्षमताको अभिवृद्धिका लागि प्रयोग गरिने परम्परागत भारतीय व्यायाम विधि हो, जसको प्रयोग वैदिक कालदेखि मल्ल युद्धको तयारीका रूपमा हुँदै आएको पाइन्छ।

मनुस्मृति, महाभारत र अन्य ग्रन्थहरूमा खम्बाको सहायताले व्यायाम गर्ने उल्लेख पाइन्छ भने हनुमानजीको शक्ति, लचकता र फुर्तीबाट प्रेरित मल्लखम्ब धार्मिक साधना र शारीरिक अभ्यासको रूपमा विकसित भएको हो।

 

 राजदरबारदेखि ओलम्पिकसम्मको यात्रा

१३औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म मल्लखम्ब भारतका राजदरबारहरूमा युद्धकला प्रशिक्षणको रूपमा प्रयोग हुन्थ्यो। विशेष गरेर मराठा राजा बाजीराव पेशवाले सन् १७२८ तिर यसलाई संस्थागत रूपमा विस्तार गरेका थिए।

त्यसपछिको महत्वपूर्ण मोड भने सन् १९३६ को बर्लिन ओलम्पिक हो, जहाँ भारतका खेलाडीहरूले मल्लखम्बको भव्य प्रदर्शन गरी विश्व समुदायको ध्यान तानेका थिए।

 

मल्लखम्बको विश्वव्यापी विस्तार

सन् २००८–२०१५ पछिदेखि मल्लखम्बलाई विश्वका अन्य देशहरूमा पनि सिकाउन थालिएको हो। अहिले अमेरिका, बेलायत, जापान, जर्मनी, र नेपालसहित धेरै देशहरूमा प्रशिक्षण, प्रतियोगिता र वर्कशपहरू हुँदै आएका छन्।

यसैबीच सन् २०२२ मा पहिलो विश्व मल्लखम्ब च्याम्पियनसिप सम्पन्न भएको हो भने २०२३ मे ९ देखि १२ सम्म भारतको गोलकगञ्ज रंगशाला, धुबरी, आसाममा दोस्रो विश्व मल्लखम्ब च्याम्पियनसिप आयोजना गरियो।

 

 नेपालमा मल्लखम्बको विस्तार

नेपालमा पछिल्ला वर्षहरूमा विद्यालय, योगशाला र खेलकुद संघमार्फत मल्लखम्ब अभ्यास सुरु भएको छ। नेपालका खेलाडीहरू समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। बिष्णु बहादुर खड्का जस्ता नेपाली खेलाडीको सहभागिता विशेष उल्लेखनीय छ, जसले मल्लखम्बलाई नेपालमा लोकप्रिय बनाउने दिशामा उल्लेखनीय योगदान दिएका छन्।

मल्लखम्बका मुख्य चार प्रकार छन्। जसमा

 काठे खम्बा, डोरी मल्लखम्बा, झुण्डिएको र 

बालिकाहरूका लागि अनुकूलित रहेका छन्।

 

विश्व मल्लखम्ब दिवस: जून १५

मल्लखम्बको ऐतिहासिक महत्त्वलाई सम्मान गर्न हाल जुन १५ लाई विश्व मल्लखम्ब दिवसका रूपमा मनाउने चलन सुरु भएको छ। कम्तिमा सन् २०२० देखि यो दिवस सामाजिक सञ्जाल र संस्थागत कार्यक्रममार्फत मनाइँदै आएको छ।

सन् २०२४ को मल्लखम्ब सप्ताह १४ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म मनाइएको थियो।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस