सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नगर प्रहरी दिनभरी उद्दारमा, डुबान खोल्न ११ जेसीबी प्रयोग

। फोटो स्रोत ।
२०८२ असार १६, ०८:३८

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरी दिनभरी उद्दारमा खटिएको छ।

धनगढीमा २१२ दशमलव २ मिलिमिटर वर्षले सोमवार डुबान भएपछि नगर प्रहरी उद्दार, सडकमा जम्मा भएको पानीको निकास, घर भित्र जम्मा भएको पानी मोटरमार्फत बाहिर निकाल्ने लगाएतका कामहरूमा खटिएको हो।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले डुबानमा फसेका सात जनालाई नगर प्रहरीले उद्दार गरेको बताए। धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट बोटको प्रयोग गरेर ६ जना र धनगढी–८ बाट एक वृद्धाको नगर प्रहरीले उद्दार गरेर सुरक्षीत स्थानमा पुगाइएको हो।

धनगढी उपमहानगरपालिकाले ११ वटा जेसीबी प्रयोग गरेर डुबान भएको क्षेत्रबाट पानी खोल्ने काम गरेको छ। उपमहानगरपालिकाका सात वटा र चार वटा जेसीबी भाडामा लगेर डुबान भएको ठाउँको पानी खोल्ने काम भएको हो। नागरिकको उद्दारका लागि १० वटा गाडी सुरक्षीत स्थानमा तयारी अवस्थामा राखिएका थिए। नगर प्रहरी बलका पाँच वटा गाडीमार्फत डुबान भएका ठाउँसम्म नगर प्रहरी पुगेका हुन् भने, सोही गाडीमा समेत उद्दार गर्न सकिने अवस्था रहेको उपमहानगरपालिकाले बताएको छ। नगर प्रहरी सोमवार १० वटा मोटरसाइकलमा डुबान भएको क्षेत्रमा पुगेका थिए। उनीहरूले डुबानबाट हुने सम्भावित क्षतिको समेत अवस्था बुजेका हुन्। जोखिम युक्त क्षेत्रको निरीक्षण तथा सूचना सङ्कलन, नालीमा पानी बग्न अवरोध रहेका ठाउँमा सफा गर्नका लागि नगर प्रहरी मोटरसाइकलमा खटिएका थिए। नगर प्रहरी ११ वटा समूहमा उद्दारका लागि खटिएको थियो।

सडकमा जम्मा भएको पानी नगर प्रहरीले सब्बल, घैटी लगायतका उपकरण प्रयोग गरेर पनि नालीसम्म निकास गरेको छ। धनगढी उपमहानगरपालिका–१ चौलानी स्टोर नजिक, शीतल डेरी नजिक, ऐश्वर्य विद्यालय नजिक र एलएन चोक क्षेत्रको सडकमा जम्मा भएको पानी नगर प्रहरीले सब्बलको प्रयोग गरेर नालीमा निकास गरेको हो। दुई वटा मोटर प्रयोग गरेर पाँच वटा घर भित्र जम्मा भएको पानी नगर प्रहरीले निकास गरेका छन्।

नगर प्रहरीले धनगढी–६ का तीन ठाउँमा, १८ को चार ठाउँमा, १ को चार ठाउँमा, ४ को तीन ठाउँमा, ३ को २ ठाउँमा, २ को तीन ठाउँमा, ५ को आठ ठाउँमा, १४ को एक ठाउँमा जम्मा भएको पानीलाई निकास दिइएको छ। यस्तै, वडा नम्बर ८ मा तीन ठाउँमा, १० मा तीन ठाउँमा, १३ मा तीन ठाउँमा, १२ मा तीन ठाउँमा, ७ मा एक ठाउँमा र २ नयाँ बस्तीमा चार ठाउँको पानी निकास गरिएको उपमहानगरपालिकाले बताएको छ। धनगढी उपमहानगरपालिका–८ मा २ घरको सामान नगर प्रहरीले सुरक्षीत स्थानमा सारेको छ।

धनगढी उपमहानगरपालिकाको कार्यालयमा नै ब्यारेक तयार पारेर २४ घण्टा नै नगर प्रहरी तयारी अवस्थामा बस्ने गरेका छन्। धनगढी उपमहानगरपालिकाले ‘हर घडी, नगर प्रहरी’को नारासहित समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ। समस्यामा परेका नागरिकलाई ०९१–५९०६९० मा सम्पर्क गर्न धनगढी उपमहानगरपालिकाले आग्रह गरेको छ।

 

कमेन्ट लोड गर्नुस