धनगढीमा गएको २४ घण्टामा २१२ मिलिमिटर वर्षा हुँदा बेलौरीमा २७९ मिलिमिटर

धनगढी: धनगढीमा यो वर्षको मनसुनको अहिलेसम्मकै बढी वर्षा भएको छ।
गएको २४ घण्टामा धनगढीमा दुई सय १२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विभाग विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ।

धनगढीमा दुई सय १२ मिलिमिटर वर्षा हुँदा कञ्चनपुरको बेलौरीमा भने गएको २४ घण्टामा दुई सय ७९ दशमलव २ मिलिमिटर वर्षा भएको मौसमविद् रोदन लामिछानेले बताए।

गएको २४ घण्टामा कैलाली र कञ्चनपुरमा यो वर्षकै उच्च वर्षा भएको मौसमविद् लामिछानेले बताए। अहिलेसम्मकै उच्च वर्षा हो या होइन भन्ने पत्ता लगाउन भने दुई-तीन दिन लाग्ने लामिछानेले बताए। म्यानुअल रेकर्डिङ काठमाडौँ आएपछि मात्रै हालसम्मको वर्षाको इतिहास भन्न सकिने उनले बताए।
गत वर्ष दोधारा चाँदनीमा २७५ मिलिमिटर पानी परेको थियो। तर, बितेको २४ घण्टामा कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिमयर मापन केन्द्रमा भने दुई सय ७९ दशमलव दुई मिलिमिटर पानी परेको मौसमविद् लामिछानेले बताए।


कैलाली र कञ्चनपुरमा आगामी बुधवार र बिहीबार राति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विद् रोदन लामिछानेले बताए।