नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित

काठमाडौँ : नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।
आइतवार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो।
नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसियाले २४.३ ओभरमा मात्र ५० रन जोड्न सक्यो। इन्डोनेसियालाई सस्तैमा अलआउट गर्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ६ विकेट लिए। उनले बलिङमा दुई मेडन समावेश थियो। नेपालका लागि शुभम् खनाल र सुगम बुढाथोकीले थप एकएक विकेट हात पारेका छन्।
यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ४२० रन बनाएको हो। नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव, जय थापाले सानदार अर्धशतक बनाए। प्रसिद्धले ११४ बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १३२ रन बनाए।

त्यसैगरी परिमार्जन यादवले मात्र २८ बलमा ७१ रन जोडे। उनको शानदार अर्धशतकमा चार चौका र आठ छक्का समावेश थियो। रौनक श्रीवास्तवले ७१ बलको सामना गर्दा आठ चौका र दुई छक्काको मद्दतमा ८८ रन जोड्नुभयो भने जय थापाले ४१ बलमा सात चौकाको मद्दतमा ५७ रन बनाए। सुगम बुढाथोकीले अविजित ३९ रन जोड्दा रोशन शाहीले नटआउट १० रन थपे।


यसअघि पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले जापानमाथि ९ विकेटको जित निकालेको थियो। यो जितसँगै समूह ‘ए’को नेपाल तीन खेलमा तीन जितसहित ६ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। नेपालले समूह चरणको अन्तिम अर्थात् चौथो खेल असार १७ गते भुटानसँग खेल्नेछ।