सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बझाङका सूचना अधिकारी १४६ दिनदेखि ‘मनमर्जी बिदामा’

२०८२ असार १२, ०६:२७

धनगढी : जिल्ला अस्पताल, बझाङका एक कर्मचारी १४६ दिनदेखि सम्पर्क विहीन भएका छन्।

जिल्ला अस्पताल बझाङमा कार्यरत रहेका अधिकृत छैटौँ तहका कर्मचारी गंगा प्रसाद जोशी १४६ दिनदेखि अस्पतालमा हाजिर नभएका हुन्।

जिल्ला अस्पताल बझाङमा उनी २०८१ माघ १८ गतेदेखि हाजिर भएका छैनन्। अस्पतालको सूचना अधिकारी, खरिद समितिका संयोजक, मेडिकल रेकड शाखा प्रमुख लयातको जिम्मेवारीमा रहेका जोशी अस्पतालमा लामो समयदेखि अस्पतालको काममा गएका छैनन्।

जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख नवराज जोशीले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई उनी मनमर्जी हाजिर नभएका भन्दै पत्र पठाएका छन्। जिल्ला अस्पताल बझाङमा २०८१ कात्तिक २० गते गंगाप्रसाद जोशीलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती अस्पतालबाट कामकाजका लागि पठाइएको थियो।

तर, उनी २०८१ माघ १८ गतेबाट अस्पतालको काममा गएका छैनन्। अस्पतालले कुनै लिखित तथा मौखिक जानकारी बिना बिदामा बसेको, कार्यालयबाट सम्पर्क गर्दा नभएको, बिदामा बस्नुको कारण जानकारी नभएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयलाई बुधवार पत्र पठाएको हो। अस्पतालले उनको हाजिरसमेत मन्त्रालयमा पठाएको छ।

जिल्ला अस्पताल बझाङले मन्त्रालयलाई पठाएको पत्रमा स्वास्थ्य निर्देशनालय डोटी, सेती प्रादेशिक अस्पताल र जिल्ला प्रशासन कार्यालय, बझाङलाई बोधार्थ दिइएको छ। जोशीसँग सम्पर्क गर्दा उनकाका चार वटै नम्बरहरू बन्द छन्।

 

कमेन्ट लोड गर्नुस