सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका नौ स्थानीय तहको बजेट सार्वजनिक

२०८२ असार ११, १२:११ खबर संवाददाता

बैतडीः बैतडीका १० ओटा स्थानीयतहमध्ये ९ ओटाले बजेट सार्वजनिक गरेका छन्।

मेलौली नगरपालिका बाहेकका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बजेट ल्याएका हुन्। 

जिल्लाको दशरथचन्द नगरपालिकाले ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट ल्याएको छ। उपप्रमुख कौशिला चन्दले नगरसभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको छ। 
यस्तै पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड १२ लाख बराबरको बजेट ल्याएको छ।

पाटन नगरपालिकाले ६६ करोड ९३ लाख १७ हजार बराबरको बजेट पारित गरेको नगर प्रमुख गौरीसिंह रावलले बताए। नगर उपप्रमुख कमलसिंह बोहराले आफ्नो संलग्नता बिना बजेट आएको भन्दै नगरसभाबाट बाहिरिएका थिए। त्यसपछि नगर प्रमुख रावल आँफैले सभामा बजेट पेश गरेका थिए। उक्त बजेट सभाबाट बहुमतले पारित भएको बताइएको छ। 

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट गाउँसभामा पेश गरेको छ। बजेटमाथि छलफल गरेर असार १६ गतेको गाउँसभाबाट बजेट पारित गर्ने तयारी रहेको उपाध्यक्ष मञ्जु बोहराले बताइन्।  यस्तै शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बराबरको बजेट गाउँसभाबाट पारित गरेको छ।

उपाध्यक्ष शकुन्तला साउँदले सभामा पेश गरेको बजेट पारित भएको अध्यक्ष कर्णसिंह साउँदले बताए। यस्तै दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट ल्याएको छ। डिलाशैनी गाउँपालिकाले ६५ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। 

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। आगामी आर्थिक बर्षका लागि उक्त बजेट उपाध्यक्ष बिना भट्टले गाउँसभामा पेश गरेकी हुन्। 
यस्तै सिगास गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५५ करोड ९० लाख ७४ हजार १ सय ९ रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

असार ७ गते गाउँसभामा पेश भएको उक्त बजेट मंगलबार पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। मेलौली नगरपालिकाले भने असार १७ गते बजेट ल्याउने तयारी गरेको छ। नीति तथा कार्यक्रम यसअघि नै पारित गरिसकेको नगरपालिकाले १७ गते बजेट ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए।
 

कमेन्ट लोड गर्नुस