सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ६८ प्रतिशत मात्रै रोपाई सकियो, मल अभावको समस्या कायमै

२०७६ साउन २, ११:१६ कमल सावद

साउन महिना सुरु हुदाँ पनि सुदूरपश्चिममा ६८ प्रतिशत मात्रै रोपाई सकिएको छ। सुदूरपश्चिममा एक लाख ८१ हजार ४ सय २४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिले सम्म ६८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको हो। प्रदेशमा सिँचाई र मलको अभावले साउन सुरु हुँदा समेत कुल क्षेत्रफलको ३२ प्रतिशत अथार्त  ५८ हजार ५६ हेक्टर क्षेत्रफलमा रोपाई नभएको हो। कृषि विकास निर्देशनालय दिपायलका बागवानी विकास अधिकृत डम्बर भाटले सबैभन्दा बढि रोपाई हुन अछाममा बाँकी रहेको र सबैभन्दा बढि कञ्चनपुरमा रोपाई भएको बताए। 
उनका अनुसार अछाम जिल्लाको  १६ हजार चार सय हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेकोमा ५५ प्रतिशत अर्थात नौ हजार २० हेक्टर क्षेत्रफल अझै बाँझो छ। डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेकोमा ४० प्रतिशत अर्थात दुई हजार चार सय ९० हेक्टर क्षेत्रफल बाँझो छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा जिल्लामा ४५ प्रतिशत अर्थात चार हजार नौ सय चार हेक्टर क्षेत्रफल अझै बाँझो छ। बाजुरामा सात हजार दुई सय २० हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेकोमा ४० प्रतिशत अर्थात दुई हजार आठ सय ८८ हेक्टर क्षेत्रफल बाँझो छ। बझाङमा सात हजार एक सय १० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ३५ प्रतिशत अर्थात दुई हजार चार सय ८९ हेक्टर क्षेत्रफल बाँझो छ। कैलाली र दार्चुलामा ३०/३० प्रतिशत क्षेत्रफलमा रोपाई भएको छैन्। कैलालीमा ७१ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेकोमा २१ हजार पाँच सय १५ हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेकोमा एक हजार तीन सय ४४ हेक्टर क्षेत्रफल बाँझो छ। सबै भन्दा कम कञ्चनपुर जिल्लामा २० प्रतिशत क्षेत्र मात्र बाँझो छ। ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेकोमा जिल्लामा नौ हजार छ सय ७५ हेक्टर क्षेत्रफल बाँझो छ। कृषि विकास निर्देशनालय दिपायलका बागवानी विकास अधिकृत भाटले मल र पानीको अभावका कारण सुदूरपश्चिम प्रदेशमा रोपाई कम भएको बताए। 
प्रदेशमा रासायनीक मल बितरणको जिम्मेवारी पाएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडीङ क्षेत्रीय कार्यालयसंग मलको मौज्जाद नै छैन्। कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका निमिक्त प्रवन्धक नवलसिँह बोगटीले डिएपिको मौज्जाद सुन्य रहेको बताए। उनले यूरियाको मात्र केही मात्रामा मौज्जाद रहेको जानकारी दिए।  
मलको उपलव्धता भए र बर्षात भए साउन १५ गते सम्म पनि प्रदेशमा रोपाई हुन्छ। तर पनि यो बर्ष केही क्षेत्रमा रोपाई नहुने देखिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ। सुदूरपश्चिममा बार्षिक ७० हजार मेट्रिक टन भन्दा बढी खाद्यान्न नेपालको पूर्वी तराईका साथै भारत लगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ। परम्परागत खेती प्रणालीका कारण उत्पादन बढ्न नसकेको बेला बर्षेनी खेतीपातीको समयमा हुने मल र ईन्धनको अभावले झनै समस्या बढिरहेको छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस