सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा बाँझोपन उपचार सेवा सुरु, सुदूरपश्चिमका दम्पतीलाई राहत दिने पहल

२०८२ जेठ ३०, ०४:०१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका सयौँ दम्पतीहरू सन्तान सुखबाट वञ्चित छन्।

सामाजिक रूपमा संवेदनशील मानिने बाँझोपनको विषयमा जनचेतना र उपचार सेवाको अभावले पीडितहरू मौन रहँदै आएका छन्। तर अब, सेती प्रादेशिक अस्पतालले बाँझोपनको परीक्षणदेखि उपचारसम्मका सेवा सुरु गर्दै सुदूरपश्चिमका दम्पतीहरूलाई राहत दिने भएको छ।

बाँझोपन के हो?

चिकित्सकीय परिभाषाअनुसार, एक वर्षसम्म नियमित यौन सम्पर्क हुँदाहुँदै पनि सन्तान नहुनुलाई बाँझोपन भनिन्छ।

नेपालमा यस्ता दम्पतीको सङ्ख्या कुल दम्पतीको करिब १५ प्रतिशत छ। यसमा महिलामात्र होइन, पुरुषहरू पनि उत्तिकै जिम्मेवार हुन सक्छन् भन्ने कुरा हालैको चिकित्सा रिपोर्टहरूले पुष्टि गरेका छन्।

यी हुन् बाँझोपनका कारणहरू

सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले विभिन्न कारणले बाँझोपन देखिने बताएका छन्।

उनले अण्डोत्सर्जनको समस्या अर्थात् समयमै अण्डा नबन्नु वा नफुट्नु, अण्डाशयमा सिस्टहरू हुनु, पाठेघरको नली सङ्क्रमण वा शल्यक्रियाका कारण बन्द हुनु तथा पाठेघरको संरचनात्मक विकृतिले महिलामा बाँझोपन देखा पर्ने बताए। यस्तै, डाक्टर भट्टले पुरुषमा भने शुक्रकीटको सङ्ख्या कम हुनु, शुक्रकीटको गति कमजोर हुनु, शुक्रकीटको बनावट अस्वाभाविक हुनु, तथा शुक्रकीटको पूर्ण अभावले पुरुषमा निसन्तानपन देखापर्ने बताए।

यस्तो छ परीक्षण प्रक्रिया

सेती प्रादेशिक अस्पतालले बाँझोपन पहिचानका लागि आधुनिक परीक्षण विधिहरू अपनाउने भएको छ।

जसमा दम्पतीको विस्तृत स्वास्थ्य विवरण तथा रक्त तथा वीर्य परीक्षण गरिनेछ। महिलाको हकमा भने पाठेघर र नलीहरूको परीक्षण तथा ट्रान्सभजाइनल सोनोग्राफी मार्फत गर्भाशयको अवलोकन गरिने डाक्टर भट्टले बताए। डाक्टर भट्टले जीवनशैलीमा सुधार ल्याएर निसन्तानपनबाट बच्न सकिने बताए। उनले स्वस्थ खानपान, तनाव व्यवस्थापन, धूम्रपान र मदिराको त्याग गरेर बाँझोपन हुनबाट बच्न सकिने बताए।

“औषधीय उपचार अर्थात् समस्या अनुसार औषधी प्रयोग गरेर, सहायक प्रजनन प्रविधि, इन्ट्रायुरेटाइन इन्सेमिनेसन जसमा प्रशोधित शुक्रकीटलाई पाठेघरमा प्रत्यक्ष राखेर बाँझोपन भएका दम्पतीले सन्तान जन्माउन सक्छन्,“ उनले भने, “आइभिएफ अर्थात् अण्डा र शुक्रकीटलाई प्रयोगशालामा मिलाएर भ्रूण बनाउने विधिबाट पनि सन्तान जन्माउन सकिन्छ।“ डाक्टर भट्टले आइभिएफ पद्धतिमा सफलता दर १० देखि ४० प्रतिशतसम्म हुने अनुमान गरिएको छ, जसले बाँझोपन समाधानमा सुखद परिणाम दिन सक्ने बताए।

सेती अस्पतालको सन्देश

सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले बाँझोपन केवल चिकित्सा नभई सामाजिक र मानसिक चुनौती पनि रहेको बताए।

उनले यस्तो सेवाको अभावले धेरै दम्पती सामाजिक दबाब र मानसिक तनावमा परिरहेको बताए।“सन्तानको चाहना हुनु प्राकृतिक हो। तर उपचारको पहुँच नहुनु दुर्भाग्यपूर्ण हो,“ उनले भने, “हामीले सेवा सुरु गर्नुको उद्देश्य नै प्रत्येक दम्पतीलाई आशा र समाधान दिनु हो,” निसन्तानपनको उपचार गर्न केवल सात हजार पाँच सय रुपैयाँ मात्रै शुल्क लाग्ने मेसु पाण्डेले बताए।

बाँझोपन भएका दम्पतीलाई राहत

बाँझोपन उपचार अब सुदूरपश्चिममा सम्भव भएको छ।

सेती प्रादेशिक अस्पतालले सुरु गरेको सेवाले दम्पतीहरूलाई राहत दिने विश्वास गरिएको छ। समयमै परीक्षण, परामर्श र उपचारले सन्तान सुख प्राप्ति सम्भव बनाउने भएकाले सम्बन्धित व्यक्तिहरूलाई ढिलाइ नगर्न सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ। एक कार्यक्रमका बिच शुक्रवार नै अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेले निसन्तान उपचार क्लिनिकको उद्घाटनसमेत गरेका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस