सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम ३१ लाख खर्चेर पस्मिना उत्पादनको अध्ययन, कार्यक्रम हराए

२०८२ जेठ २५, ११:४३ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेशका तीन हिमाली जिल्लाहरूमा पस्मिना उत्पादनका लागि गरिएको सम्भाव्यता अध्ययन स्वीकृत भयो।

सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा, बझाङ र दार्चुलामा च्याङ्ग्रा पालन तथा पस्मिना उत्पादनको सम्भाव्यता अध्ययन गरिएकोमा स्वीकृत गरेर बजेटसमेत विनियोजन गरेको थियो।

प्रदेश सरकारले गत आर्थिक वर्षमा तीन हिमाली जिल्लाहरूमा ५० लाखका दरले बजेटसमेत विनियोजन गरेको छ। दार्चुलामा पस्मिना उत्पादनका लागि च्याङ्ग्रा पालन गरिएको छ। तर, बाजुरा जिल्लामा कार्यक्रम सञ्चालनमा समेत आएन्। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, डोटीका प्रमुख डाक्टर पान सिंह ठगुन्नाले बाजुरामा कार्यक्रम सञ्चालन नभएको बताए। ‘दार्चुलाबाट केही च्याङ्ग्रा आए। तर, बाजुरामा उहाँहरूको विवाद भयो। कार्यक्रम सञ्चालनमा आएन,’ उनले भने।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बाजुरा, बझाङ र दार्चुलामा च्याङ्ग्रा पालन सम्बन्धी स्थलगत सर्भे तथा सम्भाव्यता अध्ययन कार्य स्वीकृत गर्दै बजेट विनियोजन गरेको हो। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने हो। तर। विवादका कारण बाजुरा जिल्लामा पठाइएको ५० लाख रुपैयाँ खर्च भएन। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बजेट पठाइएको थियो। दार्चुलाको व्यास गाउँपालिकाबाट पस्मिना उत्पादन भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा समते उक्त कार्यक्रम कार्यान्वयनको छाँट देखिएको छैन्। प्रदेश सरकारले धुमधामका साथ सम्भाव्यता अध्ययन गरेको भेडापालन तथा पस्मिना उत्पादनको कार्यक्रम सञ्चालनमा बेवास्ता गरिएको छ। आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययनको प्रतिवेदन अनुसार कार्यक्रम सञ्चालन नहुने देखिएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, डोटीका प्रमुख डाक्टर पान सिंह ठगुन्नाले आगामी आर्थिक वर्षमा समेत उक्त कार्यक्रममा बजेट विनियोजन हुनेमा आशँका व्यक्त गरेका छन्। उनले भने, ‘एक स्थानीय तह, एक कार्यक्रमको अवधारणमा जाँदैछु। कुनै ठाउँमा भैँसी पालन, कतै बाख्रा, कतै भेडा पनि हुन सक्छ। तर, अहिले नै भन्न सकिने अवस्था छैन।’

सुदूरपश्चिम प्रदेशका हिमाली तीन जिल्लामा पस्मिना उत्पादनको कार्यक्रम हराएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा, बझाङ र दार्चुलामा भेडा पालन गर्ने र पस्मिना निर्यात गर्ने योजना ल्याएको थियो। प्रदेशका तीन जिल्लामा भेडा पालनको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले ठुलो रकम खर्च गरेको थियो।

गत आर्थिक वर्षमा पस्मिना उद्योग सञ्चालनका लागि तीन जिल्लामा बजेटसमेत विनियोजन गरिएको थियो। तर, चालु आर्थिक वर्षमा प्रदेश सरकारले पस्मिना उद्योगका लागि बजेट विनियोजन गरेन। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समेत कार्यक्रमलाई निरन्तरता दिने कुनै छाँट प्रदेश सरकारको छैन।

समुन्द्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा पस्मिना उत्पादनको सम्भावनाका बारेमा अध्ययन गरिएको थियो। ४५ लाख पस्मिनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएकोमा ३० लाख ९३ हजार खर्च भएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस