सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हप्ता असुलीका लागि होटलमा छापा, पर्यटनको बाधक नै प्रहरी

२०७६ साउन १, ०६:४६ नवराज पनेरु

गत शनिवार धनगढीका दुई होटलमा छापा हान्दै कैलाली प्रहरीले देहव्यापारमा संग्लन रहेको आरोपमा सात जनालाई पक्राउ ग¥यो। आपसी समझदारीमा होटलमा बसेका युवतीहरुले प्रहरीसंग मिल्दै सात जना विरुद्ध नै मानव बेचविखन तथा ओसारपसारमा मुद्धा हाले। सात जनामा तीन जना भारतीय पनि थिए। होटलमा आपसी समझदारीमा जाने र प्रहरीले छापा हानेर पक्राउ गरेपछि युवतीलाई जवरजस्ती देहव्यापारमा लगाएको आरोपमा युवक, होटल सञ्चालक र होटल व्यवस्थापकका विरुद्ध मानव बेचविखनमा मुद्धा पर्न थालेपछि पर्यटकसंगै होटल व्यवसायी पनि त्रसित भएका छन्। धनगढीबाट भारतीय सञ्चारमाध्यममा पत्रकारीता गर्दै आएका पत्रकार राजिव गुप्ताले प्रहरीले अनावश्यक दुख दिन थालेपछि अहिले भारतीय पर्यटकहरु धनगढी आउने क्रम घटेको बताए। ‘गत फागुनमा मदिरा पिएकै भरमा कैलाली प्रहरीले दुई भारतीय डाक्टर सहित तीन जनालाई पक्राउ गर्दै दुई साता सम्म थुनामा राखेको थियो,’ उनले भने, ‘त्यसयता भारतीय डाक्टरहरुले धनगढी आउन छोडिसकेका छन्।’ उनले अनावश्यक दुख पाउन थालेपछि धनगढी सहित सुदूरपश्चिमका अन्य कुनै पनि ठाउँ घुम्न आउने पर्यटकहरुले गाडी समेत गौरीफन्टा नै छोडेर अटो रिक्सामा आउने गरेको बताए। यसै साता होटलमा युवतीसंग बसेकै भरमा तीन भारतीयमाथि मानव बेचविखनको मुद्धा लगाईएपछि झनै त्रास फैलिएको आरोप उनको छ। ‘प्रहरीले देहव्यापार र मानव बेचविखनमा संग्लन रहेको भन्दै उनीहरुलाई पक्राउ गरि मुद्धा लगाएको छ,’ उनले भने, ‘तर दुई दिन घुम्न आउने पर्यटक मानव बेचविखनमा कसरी संग्लन रह्यो भन्ने प्रश्न खडा भएको छ।’

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम वमका अनुसार कैलालीमा नयाँ प्रहरी प्रमुख सरुवा भएर आउनासाथ पहिलो निशाना होटल र गेष्टहाउस पर्दै आएका छन्। अहिले जिल्ला प्रहरी प्रमुखसंगै अधिकासं प्रहरी युनिटमा नयाँ प्रमुख आएका कारण फेरी होटल र गेष्टहाउसमा छापा हान्दै प्रहरीले व्यवसायीहरुलाई तर्साउन थालेको उनको आरोप छ। ‘केही गेष्टहाउस र होटलमा छापा हानेर अरु सबै ब्यवसायीहरु तर्साउने र असुली गर्ने यो काइदा फेरी प्रयोग भएको छ,’ उनले भने, ‘समझदारीमा युवतीसंग होटलको कोठामा बसे पनि प्रहरीले मानव बेचखिनमा मुद्धा हाल्न थालेपछि अहिले धनगढी सहित आसपासका क्षेत्रमा आउने पर्यटकहरु पनि तर्सीन थालेका छन्।’

धेरै आउने भारतीय पर्यटक नै हुने गरेकोमा अहिले होटलमा छापा हानेर भारतीय पर्यटकहरुमाथि नै ज्यादती हुन थालेपछि पर्यटन प्रवद्र्धनमा प्रहरी नै मुख्य बाधक बनिरहेको आरोप उनको छ। ‘युवती राखेर यौन धन्दा नै चलाउने होटलमा प्रहरीलाई खवर गर्दा पनि छापा नहान्ने तर कुनै युवा युवती सहतमीमा होटलमा बसेकै भरमा पक्रउ गरि युवक र होटलक सञ्चालकको नाममा झुटा मुद्धा लगाउने परिपाटीले व्यवसाय गर्ने वातावरण पनि विग्रिदै गएको छ,’ उनले भने, ‘शान्तिसुरक्षा कायम गर्ने र अपराध नियन्त्रण भन्दा पनि पहिला होटल गेष्टहाउसमा गएका जोडीलाई पक्राउ गरी बहादुरी प्रदर्शन गर्ने कार्यमा प्रहरी लाग्दै आएको छ।’ सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका बेला कैलालीमा प्रहरी भने होटलमा पक्राउ परेका पर्यटकहरुमाथि झुटा मुद्धा लगाउन थालेको सरकारी लक्ष्य पुरा हुनेमा पनि आशंका बढेको उनले बताए। 

एक पटक छापा हान्ने र सेटिङ मिलेपछि ती होटल तथा गेष्टहाउसमा जे–जे गर्दा पनि बेवास्ता गर्ने क्रम विगत लामो समयदेखि चल्दै आएको आरोप व्यवसायीहरुको छ। आउनासाथ होटल रेष्टुरेन्टमा छापा हान्ने प्रहरी प्रमुख कार्यकालभरी फेरि कहिल्यै पनि त्यतातिर नहेर्ने परिपाटीले हप्ता असुलीको सेड्युल बनाउँनकै लागि प्रहरीले छापा हान्ने गरेको जनमानसमा पनि गुनासो बढेको छ। तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्ष दक्षकुमार बस्नेतले पनि प्रहरीले कानुनले बर्जित गरेको काम रोक्न मात्रै खोजेको बताए। ‘धेरैले आरोपका लागि आरोप लगाएका होलान ’ उनले भने, ‘तर प्रहरीले कुनै पन होटल सञ्चालकबाट हप्ता असुली गरेको छैन्।’

अहिले कैलाली सहित सुदूरपश्चिममा हत्या, हिसां, बलात्कारका घटना ह्वात्तै बढेका छन्। श्रृङखलावद्ध चोरीका घटनाले प्रदेशको अस्थायी राजधानीलाई असुरक्षित बनाईरहेको छ। लागु औषधको खुलेयाम कारोवारले युवाहरु दलदलमा फसिरहेका छन्। भारतबाट हुने अवैध तस्करीले झनै प्रसय पाईरहेको छ। यस्तो अवस्थामा प्रहरीले अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नुको सट्टा होटलममा समझदारीमा बसेका युगल जोडी पक्राउ गरि बहादुरी देखाउन कत्तिको उचित होला ?
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस