सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना सञ्चालन

२०७६ असार ३१, ०७:२१ नवराज पनेरु

कैलालीमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना संचालनमा आएको छ। ८ किलोमिटर मुल नहर र तीन वटा गेटको निर्माण सम्पन्न भएपछि रानीजमरा कुलरिया आयोजना आजदेखि सञ्चालनमा आएको आयोजना कार्यालयले जनाएको छ। आयोजना प्रमुख मधुकर राणका अनुसार ईन्टेक निर्माणको कार्य आर्थिक बर्ष २०७०÷०७१ मा सम्पन्न भएकोमा इन्टेकमा जडान गर्नुपर्ने तीन वटा गेटको जडान सम्पन्न भएपछि आयोजना सञ्चालनमा ल्याईएको हो। आँठ वटा गेट मध्ये तीन वटा गेटको जडान सम्पन्न गरि पानी सञ्चालनको प्रारम्भिक परिक्षण सफलतापूर्वक सम्पन्न भएपछि आयोजना सञ्चालन गरिएको उनले बताए। 

अन्य पाँच वटा गेट जडान र होस्टीङको कार्य भईरहेको आयोजना प्रमुख राणाले बताए। आयोजनाको लक्ष्य ३८ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगाउने भएकोमा तीन वटा गेटमा पानी छोडिएपछि कैलालीको झण्डै साढे ११ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार भएको छ। यस्तै आयोजना अन्तरगत नै क्यानल फलको उपयोग गरि चार दशमलव ७ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि पावरहाउस निर्माणको कार्य भईरहेको छ। लम्की विस्तार तर्फ चालु बर्षमा साढे ५ किलोमिटर साथै १० वटा संरचना निर्माण सम्पन्न भएको र लम्की विस्तारबाट छ हजार हेक्टरमा सिंचाई सुबिधा पुगाउने आयोजना कार्यालयले जनाएको छ। आज सोही विषयमा जानकारी दिन ऊर्जा तथा जलस्रोत मन्त्रालयले काठमाडौँमा पत्रकार सम्मेलनको पनि आयोजना गरेको थियो। 

आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको छ। सो अन्तर्गत विश्व वैंकले साढे चार अर्व र तप नेपाल सरकारको लगानीमा आयोजनाका कामहरु गरिएका थिए। २७ अर्वको लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको विश्व वैंकले दोस्रो चरण अन्तर्गत निर्माण कार्य अगाडी वढाउन ७ अर्वको सम्झौता गरेको छ। आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा, भजनी, घोडाघोडी नगरपालिका गौरीगंगा नगरपालिकाको करिब ३८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुग्ने बताईएको छ। 

कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाई प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाई प्रणालीलाई वृहत सिँचाईका रूपमा विकास गर्न यो आयोजना सरकारले सुरु गरेको थियो। एक सय वर्षभन्दा पहिलेदेखि यी तीन वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा विस १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति पु¥याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी जमरा कुलरीया सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिरहेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस