सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वपश्चिम राजमार्गमा पर्ने पुलहरु जीर्ण बन्दै, दुर्घटनाको जोखिम बढ्यो

२०७६ असार ३१, ०१:३७ जनक विष्ट

तत्कालीन राजा महेन्द्रको पालामा विक्रम सम्वत २०१९ सालमा निर्माण सुरु भएर बनेको पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली र कञ्चनपुरमा पर्ने पुलहरु जीर्ण बन्दै गएका छन्। विभिन्न समय खण्डमा राजमार्गमा निर्माण भएका पुलहरु मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएपनि सरोकारवाला निकायले त्यसतर्फ ध्यान नदिएको आरोप लाग्दै आएको छ। जीर्ण बन्दै गएका पुलहरुको समयमै मर्मत सम्भार र आवश्यकताका आधारमा पुनःनिर्माण नहुँदा पुलकै कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ भने चौडाई निकै कम हुँदा र सांकेतिक चिह्नको अभावमा समस्या भएको गुनासो गरिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एंव यातायात व्यवसायी डम्बर पन्तले जीर्ण भईसकेको पुलको मर्मत सम्भार गर्न राज्यले ध्यान नदिएको गुनासो गरे। उनले एकातीर जीर्ण बन्दै गएका र अर्कोतीर पुलहरु साघुरा भएकै कारण दुर्घटनाको जोखिम बढेको बताए। पछिल्लो समय बढि जसो दुर्घटनाहरु पुलकै कारण भईरहेको टिप्पणी पनि पन्तको रहेको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत चिसापानी गड्डाचौकी सडक खण्डमा विभिन्न समयमा साना तथा ठुला गरी झण्डै ७० पुल निर्माण भएका छन्। कैलालीको चिसापानी–चौकीडाँडा–गुलरिया खण्डमा साना तथा ठुला गरी ४९ पुल बनेका छन् भने कञ्चनपुरको गुलरिया कृष्णपुर– महेन्द्रनगर–गड्डाचौकी खण्डमा २१ वटा पुल बनेका छन्।

ती मध्ये केही पुलहरुको न्युनतम भनिएको ५० वर्षको आयु पुगिसकेको छ भने धेरै पुलहरु ढिलो गरी निर्माण भएका छन्। तर निर्माणका क्रममा गरिएको लापरवाहीका कारण पछिल्लो समय निर्माण भएका पुुलहरु समेत जीर्ण बन्दै गएका छन्। सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले पनि जीर्ण बन्दै गएका पुल समयमै मर्मत सम्भार नभए ठुलो दुर्घटनामा व्यहोर्नपर्ने बताए।

राज्यलाई पनि आर्थिक भार थप हुने उनको भनाई छ। राजमार्ग क्षेत्रका पुलहरु जीर्ण बन्दै जान थालेपछि पिल्लर धस्सिएर कुनै बेला पनि जोखिम निम्तीन सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। अहिले वर्षातको समय भएकाले समान्य समयको जीर्ण बन्दै गएका पुलहरु भासिन सक्ने जोखिम बढि हुने बताईएको छ। तर सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन कुमार बमले भने राजमार्ग क्षेत्रका पुलहरु बेला बेला मर्मत सम्भार गर्ने काम हुदै आएको दावी गरे।

उनले समय समयमा हुने मर्मत सम्भारकै कारण तत्काल पूर्वपश्चिम राजमार्गमा जोखिमपूर्ण अवस्थामा रहेका बेला नभएको समेत जिकिर गरे। यसअघि चार वर्ष पहिले पूर्वपश्चिम राजमार्ग जोड्ने अत्तरिया–चिसापानी खण्डमा पर्ने शिवगंगा पुलको पिलर धस्सिएको थियो। पिलर धसिएपछि झण्डै आठ नौ महिना सम्म ठुला सवारी आवागमन रोक लगाईएको थियो। राजमार्ग क्षेत्रमा त्यस्ता समस्या फेरी दोहोरिन नदिन जीर्ण बन्दै गएका पुलहरुको समयमै मर्मत सम्भार गर्न सरोकारवाला निकायले गम्भीर भएर लाग्नुपर्ने सुझाव दिईएको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस